काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको हो। घटनामा मियाँको संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको हो। ठगी गर्ने गिरोहले उनको गाडी प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनी पक्राउ परेसँगै समातिनेको सङख्या १५ पुगेको छ। पछिल्लो ५५ दिनदेखि प्रहरीले यस प्रकरणमा पूर्व उप प्रधान मन्त्री, पूर्व गृह मन्त्री, बहालवाला सचिव, पूर्व सभासद्लाई समेत समातेर अनुसन्धान गरिरहेको छ। पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह मन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्व साभासद् आङ्टावा शेर्पा लगायतका हाई प्रोफाइल अनुसन्धानमा तानिएका छन्। मियाँ अर्का हाइ प्रोफाइल व्यक्ति हुन्।
प्रहरीले उनलाई सिंहदरबार परिसरबाटै पक्राउ गरेको हो। उनको गाडी भने केही दिनअघि देखि नै प्रहरी नियन्त्रणमा थियो। मियाँ २०७७ माघदेखि नेपाल हज समितिका अध्यक्षका रुपमा कार्यरत छन्।
को को कहिले समातिए?
२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। जसमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ रहेका थिए।
तीन दिनपछि अर्का एक अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्यो। उनी थिए मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई। राईलाई चैत १५ गते पक्राउ गरेको थियो। त्यही समूहसँग मिलेर राईले ५० जना भन्दा बढीसँग ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि समातिएका थिए।
दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते समातिएका थिए। उनीहरूले झापा, मोरङ, सुनसरी, दाङ, बाग्लुङ लगायतका मानिसलाई अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म लिएको खुलेको थियो। त्यसपछि फाइल जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो।
२० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गर्यो। त्यसपछि त यो प्रकरण एकाएक सतहमा आयो। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसपछि थप अभियुक्त खुल्दै गए। त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उप राष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो। त्यही दिन एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी भयो।
वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए। उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
वैशाख २७ गते बिहानै काठमाडौंको चुच्चेपाटीबाट पूर्व गृह मन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण समातिए। यसले झन् राजनितिक क्षेत्रमा उथलपुथल नै ल्यायो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए।
११ दिन फरार रहेका टोपबहादु रायमाझी वैशाख ३१ गते काठमाडौंबाट समातिए। उनीहरु अहिले हिरासतमा छन्। कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले सोमबार प्रहरीमा आत्मसमर्पक्ष गरे। अहिले यस प्रकरणमा १४ जना हिरासतमा छन्। इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतिक भने फरार रहेका छन् अझै।
प्रहरीले अहिले तीब्र गतिमा अनुसन्धान गरिरहेको छ। प्रहरीले अनुसन्धान टुङ्ग्याएर १/२ दिनमा नै प्रतिवेदन गराउने तयारी गरिरहेको छ।