काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जो सुकै भएपनि अनुसन्धानबाट नउम्किने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रमाणको आधारमा दोषी देखिएका कुनै पनि व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने बताए। त्यस्तै यसमा कुनै पनि कसुर नराखेकाले कतैबाट दबाब र प्रभावमा परेर अनुसन्धान नगर्ने गृहमन्त्रीमार्फत प्रहरीलाई निर्देशनसमेत दिएको जानकारी दिए।
सांसदले भिआइपी व्यक्तिको संलग्नता देखिए के गर्नुहुन्छ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले प्रमाणको आधारमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका हुन्।
'जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जो कोही पनि कानुन दायरमा आउने नै छन्। भिआइपी भिभीआइपीहरु पनि पक्राउ त परिनै रहेका छन्,' प्रधानमन्त्री दाहालले भने।
यस प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान भइरहेको बताएका थिए। भुटानी शरणार्थी प्रकरणमा पछिल्लो ५५ दिनदेखि प्रहरीले यस प्रकरणमा पूर्व उपप्रधान मन्त्री, पूर्व गृहमन्त्री, बहालवाला सचिव, पूर्व सभासद्लाई समेत समातेर अनुसन्धान गरिरहेको छ। पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह मन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्व साभासद् आङ्टावा शेर्पा लगायतका हाई प्रोफाइल अनुसन्धानमा तानिएका छन्।