काठमाडौं : आजदेखि सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ए साथी सुन’, ‘डाकिनी’ र हलिउड फिल्म ‘फास्ट एक्स’ रिलिज भएका हुन्।
लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म ‘ए साथी सुन’मा रामराघव आचार्यको लेखन र निर्देशन रहेको छ। फिल्ममा वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का कलाकारको अभिनय छ। यस फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्।
त्यसैगरि, खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) को लेखन र निर्देशन रहेको ‘डाकिनी’ पनि आजबाट सिमित हलमा रिलिज भएको छ। रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्री निर्माता रहेको फिल्मको छायाङ्कन पनौती र पाटनमा गरिएको थियो।
यस फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। त्यसैगरि, फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायतका नेपाली कलाकारको समेत अभिनय छ।
ताइवानका चर्चित छायाँकार मार्क लि पिङ बिङको सिनेमाटोग्राफी रहेको यो फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ। यो फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाममा विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भइसकेको छ।
हलिउड फिल्म ‘फास्ट एक्स’ पनि आजबाट हलमा रिलिज भएको छ। यो फिल्म चर्चित एक्सन फिल्म ‘फास्ट एण्ड फ्युरियस’ दशौं श्रृंखला हो। लुइस लेटरियर निर्देशित यस फिल्ममा भेन डिजेल, जेसन मोमोआ, मिचेल रोड्रीगेज, रीटा मोरेनो लगायतको अभिनय छ।
'फास्ट एक्स' ले हलहरुङ्गा उच्च शो पाउँदा 'ए साथी सुन' र 'डाकिनी' लाई भने न्यून शो दिइएको छ।