PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

इटालीमा वर्षाले विपत् : बाढीका कारण १३ जनाको मृत्यु, हजारौं मानिस विस्थापित



पहिलोपोस्ट

इटालीमा वर्षाले विपत् : बाढीका कारण १३ जनाको मृत्यु, हजारौं मानिस विस्थापित

इटालीमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। वर्षासँगै बाढी पहिरो जाँदा कयौं घरहरु क्षतिग्रस्त भएका छन् भने भौतिक पूर्वाधारहरु पनि नष्ट भएका छन्। ३०० भन्दा बढी स्थानमा पहिरो जाँदा ४०० भन्दा बढी सडकहरुमा क्षति पुगेको छ।

 ६ महिनामा पर्ने पानी साढे एक दिनमा परेपछि २० वटा भन्दा बढी नदीमा एकसाथ बाढी आएको बीबीसीले उल्लेख गरेको छ। बाढीका कारण १३ जनाको मृत्यु भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्।

रभेन्ना शहरका मेयरले यसलाई शताब्दीकै ठूलो विपत् भनेका छन्। यो शहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ।

स्थानीय ७१ वर्षीया रोबर्टा लज्जारिनाले भनिन्, ‘त्यो ४८ घण्टा निकै नराम्रो थियो। पानी र माटोले हाम्रो गाउँलाई नै डुबायो। मैले यस्तो विपत् मेरो जीवनकालमा कहिलै देखिएको थिइन।’

अहिले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ। इटालीका ‘सिभिल प्रोटेक्शन’ मन्त्री नेल्लो मुसुमेसीले ३६ घण्टामा २० सिएम पानी परेको र केही स्थानमा ५० सिएमसम्म पानी परेको बताएका छन्।

वर्षाले विपतपछि प्रधानमन्त्री गर्जिया मेलोनीले आउने मंगलवार ‘क्राइसिस मिटिङ’ बोलाएकी छिन्। विपक्षी दलका नेताले भने अहिलेको परिस्थितिको जिम्मेवारी सबै राजनीतिक प्रणाली भएको आरोप लगाएका छन्। राजनीतिज्ञहरुले जलवायु परिवर्तनलाई गम्भीर रुपमा नलिएको विपक्षी डेमोक्रेटिक पार्टीको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell