PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

गण्डकीमा अपराधको ग्राफ उकालो लाग्दै, आर्थिक अभाव बन्दै ‘मोटिभेसन’



रिना थापा

गण्डकीमा अपराधको ग्राफ उकालो लाग्दै, आर्थिक अभाव बन्दै ‘मोटिभेसन’

पोखरा : चिनेजानेका मानिस भएका कारण सुमनले सुजनलाई विश्वास गरेर गरगहना बेचे। पोखरामा सुन पसल सञ्चालन गर्दै आइरहेका उनले सुजनलाई १ करोड ५६ लाख ११ हजार रुपैँया बराबरको गरगहना बिक्री गरे। चिनेकै व्यक्ति भएका कारण सुमनले भुक्तानी चेकबाट लिन सहजै स्विकारे।

सुजनले सुमनलाई मुक्तीनाथ विकास बैँकको चेक थमाइदिए। तर, चेक बाउन्स भयो।  मर्कामा परेपछि सुमन सहयोग माग्न कास्की प्रहरी कार्यालय पुगे। प्रहरी कार्यालय कास्कीमा पछिल्लो समय बैकिङ् कसुरका घटना बढेका छन्। प्रहरी समक्ष आउने उजुरी अधिकांश ठगीकै हुन्छन्। यसबाहेक पछिल्लो समय प्रहरी कार्यालयमा चोरीका घटना पनि उत्तिकै आउन थालेका छन्।

गत चैतमा पोखरा १४ मा घरबाट २ तोला सुन सहित नगद ४ लाख रुपैँया चोरी भयो। केही दिन अगाडि मात्र स्कुटरको डिकीबाट पैसा चोरी गर्ने महिला पक्राउ परिन् पोखरामा। यी घटना समाजमा घटिरहने हुन्। तर, घटिरहने घटनाको संख्यामा भने परिवर्तन आएको छ।

गण्डकीमा आर्थिक अपराधको ग्राफ उकालो लागेको छ। गएका दुई वर्षमा गण्डकी प्रदेशमा बैकिङ कसुर, चोरी ठगीका मुद्दा बढ्दो छ। जसलाई प्रष्ट्याउँछ गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकले।

स्रोत : गण्डकी प्रदेश प्रहरी कार्यालय

तथ्यांक हेर्दा गण्डकीमा आर्थिक र सामाजिक अपराध बढ्दो छ। महिला तथा बालबालिका घटना बाहेक अन्य अपराधको ग्राफ उकालो लागिरहेको छ। जसमा पनि चोरीको घटना आर्थिक वर्ष २०७७-२०७८ र २०७८-२०७९ मा ६७.२ प्रतिशतले बढेको देखिन्छ। यता आर्थिक वर्ष २०७९-२०८० को चैतसम्म मात्र गण्डकीमा आर्थिक अपराधको ३२८ वटा मुद्दा दर्ता भइसकेका छन्। सामाजिक अपराधको संख्या पनि ५८४ छ। तथ्यांक हेर्दा कोरोना महामारीको समयमा आर्थिक अपराधको घटना बढेको देखिन्छ। आर्थिक अपराधमा सबैभन्दा बढी बैकिङ कसुरका घटना छन्। बैकिङ कसुरका अपराध गण्डकीमा १८९.९२ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७६-२०७७ मा जम्मा ९८ संख्यामा रहेको बैकिङ कसुरको घटना आर्थिक वर्ष २०७९-२०८० को चैतसम्म ३७४ पुगेको छ ।

बैकिङ कसुरको अपराध बढ्नुको कारण आर्थिक मन्दी रहेको बताउँछन् समाज अध्ययता तथा अर्थ जानकार आनन्दराज मुल्मी।

‘पहिला हामीकोमा सामान लिनेदिने उधारो चल्थ्यो। अलिकति पोष्ट डेटको चेकहरु लिने हुन्थ्यो। परिस्थितिले के बिग्रायो भने व्यापार नहुने हुँदा पलायन भए। कोही ठाउँ छोडेर गएका छन्। दिनुपर्ने भुक्तानी बिर्सिएका छन्। साइकोलोजिकली नै तनवा छ। कोही तिर्नुपर्ला भनेर लुकीलुकी हिँडे यसकारण पनि चेकको भुक्तान हुन सकेन। अन्तिम उपाय उजुरी गर्ने हो। यसले गर्दा बढ्यो,’उनले भने।

अर्कोतर्फ केही व्यवसायीमा आर्थिक अपराध सम्बन्धी चेतना नभएका कारण पनि अन्जानमा नै अपराध बढेको बताउँछन् उनी।

‘व्यवसायको बेहाल अवस्थामा छ। चेक दिएको छु के होला र भन्ने चेतनाको अभाव पनि छ कोही व्यवसायमा। रिकभरि टाइममा आशा र विश्वास थियो तर तत्कालै बजारमा मन्दीको जून अवस्था देखियो मान्छेको आम्दानी यथावत् छ। मूल्यवृद्धि भयो । बजार चल्यामान हुन सकेन। त्यसले गर्दा व्यवसायको जुन रोल हुन्थ्यो स्मुथ क्यालकुलेसन बिग्रन थाल्यो,’उनले भने।

स्रोत : गण्डकी प्रदेश प्रहरी कार्यालय

यता आर्थिक अपराधको ग्राफ उकालो लाग्दा गण्डकीको आर्थिक वृद्विदर बढी हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९-८० को गार्हस्थ्य उत्पादनसम्बन्धी सार्वजनिक गरेको तथ्यांकमा गण्डकीका आर्थिक वृद्विदर सबैभन्दा बढी ३.३ प्रतिशत हुने अनुमान गरिएको छ। यद्यपि, गत आर्थिक वर्षको संशोधित अनुमान अनुसार गण्डकीको आर्थिक वृद्विदर ६.३५ प्रतिशत देखिएको छ। वृद्विदरमा गण्डकी सबै प्रदेशभन्दा माथि भए पनि कुल गार्हस्थ उत्पादनको योगदानमा भने गण्डकी प्रदेश वाग्मती,कोशी, लुम्बिनी र मधेशको पछि छ।

आर्थिक वृद्विदर बढी हुनुमा पर्यटन र रेमिट्यान्सलाई श्रय दिन्छन् मुल्मी।

‘हामी अझै धेरै पछि छौं। गार्हस्थ्यमा हामी पछि छौं अझै। रेमिट्यान्स भित्राएको कारण हो। अर्को तर्फ संघीय र प्रदेश सरकारको लगानी अलिकति बढेको छ। अघिल्लो वर्षको तुलनामा पर्यटन तर्फ अलिकति राम्रो भएको छ त्यसले गर्दा हाम्रो अलिकति बढेको हो। यो उल्लेखनीय होइन। सबैको ग्रोथ त्यति राम्रो छैन। धेरै खुशी मान्नुपर्ने स्थिति होइन त्यो,’उनले भने।

बढ्दो आर्थिक अपराध रोक्न सरकारले आफनो हैसियत विकास गर्नुपर्ने बताउँछन् उनी। सरकारले अनावश्यक खर्च कटौती गरे केही राहत हुने तर्क उनले राख्छन्।

‘सरकारको शासन प्रणालीमा डिफेक्ट देखिएको छ। सरकारको हैसियत विकास हुनपर्‍यो सबै मिलाउन। त्यो भनेको उसले जहाँ लगानी गर्नुपर्ने हो त्यो ठाउँमा लगानी गर्नको लागि नचाहिने खर्च कम गर्ने आवश्यक नभएका कुरालाई घटाउने। त्यो पैसा बजारमा फाल्न सकिन्थ्यो। लगानी गर्न सकिन्थ्यो । रोजगारी बढ्थ्यो। अनि मान्छेलाई राहत हुन्थ्यो,’उनले भने।

कास्की प्रहरीका प्रवक्ता श्रवण कुमार विक पनि आर्थिक मन्दीको कारण आर्थिक अपराधको मुद्दा केही हदसम्मको बढेको बताउँछन्।

‘व्यापार व्यवसायका कारण पनि हो। कोरोनाले केही असर गरेको हुनपर्छ। आर्थिक मन्दीको कुराहरुपनि हुन्। बेरोजगारीको कुराहरुपनि जोडिन्। ठ्याक्कै यसकै हो भन्दा अध्ययन हुनपर्‍यो। विभिन्न कुरा जोडिन्छन्,’उनले भने।

स्रोत : गण्डकी प्रदेश प्रहरी कार्यालय

यस्तै गएको माघमा कास्कीका एक व्यक्तिले आत्मदहको प्रयास गरे। उनलाई बचाउने प्रयास गर्दा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको थियो। यही १२ गते पोखरामा ३१ वर्षका एक युवकले आत्महत्या गरे। आर्थिक अपराध बाहेक गण्डकीमा अर्को प्रमुख समस्या छ आत्महत्याको। गण्डकीमा आर्थिक वर्ष २०७९ को चैतसम्म ५०७ जनाले आत्महत्या गरेका छन्। गण्डकीमा मात्र होइन देशभर नै पछिल्लो आर्थिक वर्षमा आत्महत्याको संख्यामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।  यद्यपि, आत्महत्याको समस्या भने अघिल्ला केही वर्षदेखि लगातार बढ्दै छन्। भइरहेको समस्यामा कोरोनाले थप भूमिका खेलेको विचार राख्छन् मनोविद् तुलसी राई।

‘अघिल्लो वर्षहरुमा हेर्दाखेरि आत्महत्या बढिराखेको छ। यसमा कोरोनाले थप भूमिका खेलेको छ। रोजगार घुम्यो व्यापार व्यवसाय नर्मल तरिकाले सञ्चालन भएन। कोरोनाको कारण दैनिक क्रियाकलापमा हलचल ल्यायो। यस्ता आकस्मिक घटनाले मानसिक स्वास्थ्यमा असर पार्छ। यसले गर्दा सुसाइडको केस बढ्नु र व्यक्तिगत लगायत आर्थिक विचलनको कारण हुनसक्छ,’उनले भने।

यता चोरीको अपराध भने दुई वर्षमा ७.६९ प्रतिशतले बढेको छ भने सामाजिक अपराध २३.४७ ले बढेको छ। यस्ता अपराध बढ्नुमा केही भूमिका परिस्थितिको रहेको विचार राख्छन् उनी। तर, यसमा अन्य धेरै कारक रहेको भनाइ छ उनको।

‘अपराध बढ्नुको कारण बढी आर्थिक कुरा नै भयो। व्हाट इज नेकस्ट भनेर मेन्टली मानिसलाई च्यालेन्ज नै छ। च्यालेन्ज पनि दैनिक जीवन कसरी चलाउने गुजार्नेमा नै मानिस धेरै सफरिङ भइरहेको छ। त्यसले गर्दा यस्ता खाल्को अपराधमा परिस्थिति र बाध्यताले मोटिभेट भएको हुनसक्छ। यी बाहेक अन्य फ्याकटर पनि हुन्छ,’उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell