काठमाडौं : पूर्व तयारीका सम्पूर्ण चरण पूरा गरेका आयोजनाले मात्रै बजेट पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व तयारी भएका आयोजनालाई मात्रै बजेट दिइने बताए।
पूर्व तयारी नै नगरी बजेट छुट्याउने चलन रहिआएकोमा यसबाट ठेक्का निकालिहाल्ने र तयारी काम नहुँदा आयोजनाहरु वर्षौसम्म अलपत्र हुने गरेका छन्। राष्ट्रपति पौडेलले विकास आयोजनाहरु निर्धारित समय र गुणस्तरीयता कायम गरि सम्पन्न गरिने बताए। उनले राष्ट्रिय गौरवका र रुपान्तरणकारी आयोजनालाई प्राथमिकतामा राखिएको बताए।
त्यसैगरी, उनले सरकारले तीन तहका आयोजनाहरु वर्गीकरण गर्ने योजना बनाएको बताए। विकासका आयोजनाहरुको अनुगमन तथा मूल्यांकन नतिजामुखी हुने पौडेलको भनाई छ।
सरकारले विकास आयोजना जग्गा प्राप्ती, वन प्रयोग र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सरलीकरणका लागि कानुन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।