काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चित नाम हो मञ्जु खाण। हिरासतमा रहेका पूर्व मन्त्री बालकृष्ण खाणकी पत्नी समेत रहेकी उनी केही समय यता 'गायव' थिइन्। प्रहरीले सम्पर्क गर्दा नभेटिएकी पात्र समेत हुन् उनी।
केही समय यता गुमनाम भनिएकी उनी आज भने टप्लक्क उपस्थित भएकी छिन् संसदको संयुक्त बैठकमा। सम्पर्कविहीन भनिएकी खाण सार्वजनिक भएपछि अब प्रहरीले के गर्ला? धेरैको प्रश्नको विषय बनेको छ।
उनका श्रीमान् पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि हिरासतमा छन्। पति हिरासतमा रहे पनि मञ्जु उनलाई भेट्न अहिलेसम्म नपुगेको प्रहरीको दावी छ। सँगै उनको नाम शरणार्थी प्रकरणमा पैसा नै लिएको भन्दै बाहिरिएको अडियोमा पनि मुछिएको छ। उनीसँगै नाम जोडिएकी सांसद आरजु देउवाले भने कानुनी बाटो रोजिसकेकी छिन्। अडियो नै गलत भन्दै आरजु प्रहरीकहाँ अनुसन्धान होस् भन्दै पुगिन्।मिडियामा उपस्थित भएर आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिन पनि भ्याइन्। ठीक त्यतिखेर मञ्जु भने सम्पर्कविहीन भइरहिन्। लामो समय सार्वजनिक नभएकी मञ्जु सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन पारेर संसदको संयुक्त बैठकमा उपस्थित भएकी छिन्।
के अब मञ्जुलाई प्रहरीले नियन्त्रणमा लिन्छ होला त? के उनको विरुद्ध प्रहरीले प्रमाण जुटाएको छ? उनलाई पक्राउ गर्नका लागि प्रहरी प्रमाणको खोजीमा जुटेको थियो। के उनलाई प्रहरीले खोजिरहेको हो त?
संसदमा देखिएपछि पहिलोपोस्टले अनुसन्धानमा जुटेको प्रहरी परिसका प्रवक्तालाई सोधेको छ।
परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जवाफ दिए, 'जहाँसम्म मलाई थाहा छ, उहाँ हाम्रो खोजी सूचीमा हुनुहुन्न।'
उनको घुमाउरो जवाफले प्रहरीको खोजी सूचीमा नै नभएको व्यक्ति पक्राउ गर्ने सम्भावना कम रहेको देखाउँछ।
अहिलेसम्म शरणार्थी प्रकरणमा मञ्जुका पति बालकृष्ण सहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङ्टावा शेर्पा लगायत १६ जना समातिएका छन्। प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्भवत प्रहरीले आइतवार अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा बुझाउँदै छ।
प्रवक्ता रिजालले दिएको जवाफ नै यदि आधिकारिक हो भने मञ्जुलाई प्रहरीले पक्रिहाल्ने सम्भावना कम देखिन्छ।