
काठमाडौं : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशप्रति स्थानीय र संघ दुबै सरकारले गरेको व्यवहार ठीक नभएको बताएका छन्। तामाङ पत्रकारहरुको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री लामाले प्रदेशको बजेटतिर दुबै सरकारले आँखा लगाउने पाइएको दाबी गरेका हुन्।
'संघप्रति मान्छेहरुको विश्वास भएन। किन त संघले काम गरेको हो कि प्रदेशले। स्थानीयले के सोच्ने रहेछ भने स्थानीयले प्रदेशसँग धेरै पैसा हुनेरहेछ। यसले हामीलाई असर गर्छ। यो प्रदेश चाहिँदैन भन्ने। माथि संघ पनि त्यो पैसा त हामीले चलाउन पाए त हुने भन्ने,' मन्त्री लामाले भने। यसरी दुई तहको सरकारले पैसामा आँखा लगाएर प्रदेश नै नचाहिने खालको तर्क राखेको आफूले पाएको उनको भनाई थियो। यस्तो व्यवहारले प्रदेश गएमा संघीय सरकार पनि नरहने र स्थानीयले पनि अधिकार नपाउने लामाले बताए। 'प्रदेशै गएपछि त संघ पनि रहँदैन। प्रदेश गइसकेपछि त संघीयता नै गयो नि। व्यवस्थै नरहे कसरी स्थानीयले अधिकार रहन्छ तरु यो कुरा बुझ्नुपर्यो,' मन्त्री लामाले भने।
यद्यपि तीनै सरकारले एकै खालको काम गर्दा जनता भने झुक्किएको उनको भनाई रह्यो। 'डुप्लिकेसन धेरै भएको छ। संघले पनि त्यही काम गर्ने प्रदेशले पनि त्यही काम गर्ने स्थानीयले पनि त्यही काम गर्ने। भनौ भने साथीहरु जागिहाल्ने। नभनौ भने गाह्रो पर्ने,' मन्त्री लामाले भने।
लामाले प्रदेशिक तथा मुख्य सडक छोडेर व्यक्ति घर जाने सडक बनाउनतिर नलाग्ने बताए। उनले भने, ‘हामी प्रदेशिक तथा अति आवश्यक मुख्य सडक छोडेर व्यक्तिको घर जाने बाटो बनाउने काममा लाग्दैन।’
भाषाविद् अमृत योञ्जनले ‘कलमजीवि’लाई निरन्तर दिन सके इतिहासमा एउटा राम्रो अभिलेख तयार हुने बताए। कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषद्का बरिष्ट उपाध्यक्ष टासी लामाले तामाङहरु समाजको हरेक क्षेत्रमा कमजोर रहेकोले त्यसलाई पत्रकारिताको माध्यमबाट जगजगाउने काम गर्नु पर्नेमा जोड दिए।
तामाङ पत्रकार अक्षयकोष घोषणा
तामाङ पत्रकार संघद्धारा तामाङ पहिचानजनित विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरिएको छ। संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैँया बराबरको अक्षयकोष स्थापना गरेको बताए। उनका अनुसार साढे ६ लाख रकमसमेत कबोल भइसकेको छ।
यसअघि अक्षयकोषमा ३ लाख ५० हजार रुपैयाँ कबोल भइसकेको थियो। शुक्रवार थप ३ लाख रकम कबोल भएको हो। कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन लामाले एक लाख, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नगद ५० हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ५० हजार, , समाज नर्थ अमेरिकाको सल्लाहकार लोक लामा गोलेले ५० हजार, त्यसैगरी संघका संस्थापक अध्यक्ष रवीन्द्र ग्याबाक तामाङले ४३ हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष विष्णु तामाङले २५ हजार, तामाङ डाजाङका अध्यक्ष फूलमान वलले १० हजार १०, मम्स नेपालकी कार्यकारी निर्देशक रञ्जिता लामाले १० हजार, गाउँपालिका महासंघका सल्लाहकार वंलाल तामाङ १० हजार सहयोगको घोषणा गरे।
संघका संस्थापक अध्यक्ष रविन्द्र ग्याबाले तामाङ समुदायकोसमेत कर परेकाले सरकारले अक्षयकोषको केही न केही सहयोग गर्नु आवश्यक रहेको बताए। यसअघि तामाङ पत्रकार संघका सल्लाहकार ङिमा पाख्रिनले एक लाख, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका पूर्वअध्यक्ष लक्यान लामाले एक लाख र व्यवसायी कुयाङ लामाले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले अक्षयकोषलाई १० लाखबाट ५० लाखको बनाउन सुझाव दिए। यसै कोषबाट संघले हरेक वर्ष ५० हजार रुपैँया बराबरको ‘पहिचानमुलक तामाङ पत्रकारिता लेखनावृद्धि (फेलोसिप)’ प्रदान गर्ने तयारीसमेत गरेको छ।
यसैगरी तामाङ पत्रकार संघले पत्रकारितामार्फत् तामाङ भाषा, पहिचानका क्षेत्रमा योगदान पुर्याउने दुई जना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ र एक जनालाई ‘दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार’ अन्तर्गत एक जनालाई प्रदान गरिने छन्। उनीहरुलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने तामाङ पत्रकार संघले जनायो।
स्थानीय तहका मुद्दामा छलफल
भेलामा स्थानीय तहमा तामाङका मुद्दा विषयमा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार वंशलाल तामाङसँग अन्तरक्रियासमेत भयो। ईन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका तामाङले आफ्नो कार्यकालमा संस्कृति जोगाउन लागिपरेको बताए। 'मेरो कार्यकालमा म सांस्कृति जोगाउन लागे। गाउँपालिका भवन बनाउँदा मौलिक संस्कृति र पहिचान जोगाउने काम गरेको छु। छ्योर्तेन पनि बनाएको छु,' तामाङले भने।
विकासका क्रममा तामाङ पहिचान भएको बस्ती मासिएको बारेमा तामाङको जवाफ थियो, 'विकासको अर्को स्वरुप विनास बन्नुहुदैन। तर विकासलाई आत्मसात गर्दै लानुपर्छ।'
त्यसैगरी तामाङ समुदायको आर्थिक उपार्जनको बाटो अहिले पनि रक्सी भएको उल्लेख गर्दै यसमा राज्यको अंकुश लगाउने अवस्था अझै रहेको बताए। 'तामाङ समुदायको आर्थिक उपार्जन अहिले पनि रक्सी हो। तर कानुनले त्यो गर्न बर्जित गरेको छ,' तामाङले भने। अन्तरक्रियाको सहजीकरण संघकी केन्द्रीय सदस्य शान्ति तामाङले गरेकी थिइन्।
कार्यक्रममा तामाङ पत्रकारहरुको सफलताको कथासहितको कलमजीवी मेगेजिन सार्वजनिक गर्नुका साथै जिल्लाजिल्लाको रिपोर्टसमेत प्रस्तुत गरिएको थियो। भेला भोलिसम्म जारी रहनेछ।