PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अमेरिकाले युक्रेनलाई ‘एडभान्स्ड’ एफ-१६ लडाकु विमान सहयोग गर्ने



पहिलोपोस्ट

अमेरिकाले युक्रेनलाई ‘एडभान्स्ड’ एफ-१६ लडाकु विमान सहयोग गर्ने
Photo: GETTY IMAGES

अमेरिकाले युक्रेनलाई ‘एडभान्स्ड’ लडाकु विमानहरू उपलब्ध गराउने भएको छ। अमेरिकाले युक्रेनलाई अमेरिकामा बनेको एफ-१६ लगायतका लडाकु विमानहरू उपलब्ध गराउनुका साथै युक्रेनी पाइलटहरूलाई उडानको तालिम समेत दिने बताएको बीबीसीले उल्लेख गरेको छ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति जो बाइडेनले जापानमा जी-सेभेन नेताहरूमाझ उक्त कुरा बताएका थिए। महिनौँदेखि लडाकु विमान सहयोग गर्न अनुरोध गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले यो निर्णयले ‘आफ्नो हवाइ सेनालाई धेरै मजबुत बनाउने’ बताए।

अमेरिकाको स्वीकृतिसँगै अब अन्य राष्ट्रहरूले पनि आफ्नो एफ-१६ निर्यात गर्न सक्छन्। अमेरिकाले कानुनी रुपमा पुन: निर्यातलाई स्वीकृति दिनुपर्ने भएकाले उसका सहयोगी राष्ट्र यसको निर्यात गर्न पाएका थिएनन्।

‘अमेरिकाले युक्रेनी वायुसेनाको क्षमतालाई अझ सुदृढ र सुधार गर्न एफ-१६ लगायत 'फोर्थ जेनेरेसन'को लडाकु विमानको तालिम युक्रेनी पाइलटहरूलाई दिन हाम्रा सहयोगी र साझेदारहरूसँगको संयुक्त प्रयासलाई समर्थन गर्नेछ,’ ह्वाइट हाउसका अधिकारीले भने, ‘आगामी महिनाहरुमा तालिम भएपछि, यसमा भाग लिने देशहरूको गठबन्धनले कहिले जेटहरू उपलब्ध गराउने, कति उपलब्ध गराउने र कसले प्रदान गर्ने भन्ने निर्णय गर्नेछौँ।’

युक्रेनले बारम्बार आफ्ना पश्चिमी सहयोगी राष्ट्रहरूलाई रसियाविरुद्धको लडाइमा मद्दत गर्न जेटहरू उपलब्ध गराउन ‘लबिङ’ गरेको थियो। राष्ट्रपति जेलेन्स्कीले यस निर्णयलाई ‘ऐतिहासिक’ भन्दै यसको स्वागत गरेका छन्। साथै, उनले हिरोशिमामा हुने जी-सेभेन शिखर सम्मेलनमा योजनाको ‘व्यावहारिक कार्यान्वयनको बारेमा छलफल’ गर्न उत्सुक रहेको बताए।

‘यसले हाम्रो हवाइ सेनालाई आकाशमा धेरै मजबुत बनाउनेछ,’ उनले ट्वीटमा भनेका छन्।

निकट भविष्यमै युक्रेनलाई आधुनिक लडाकु विमानहरू उपलब्ध गराउने कुरामा अमेरिकाले सङ्कोच देखाइरहेको थियो। जमिनमा सैन्य सहयोग उपलब्ध गराउनमा अमेरिका केन्द्रित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell