PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

एभरेस्ट बैङ्कका अपरेसन हेड नीरज जसले ग्राहकको खातबाट झिके लाखौं, धन्दा नरोकिँदा अरु पनि समातिए



पहिलोपोस्ट

एभरेस्ट बैङ्कका अपरेसन हेड नीरज जसले ग्राहकको खातबाट झिके लाखौं, धन्दा नरोकिँदा अरु पनि समातिए

काठमाडौं : नीरज प्रधान एभरेस्ट बैङ्कको इटहरी शाखामा काम गर्दै आएका थिए। अपरेसन हेड रहेका उनको केही समय अगाडि मात्र सरुवा भयो उदयपुरको गाईघाट। चैत २२ गते तिनै प्रधानलाई सुनसरी प्रहरीले नियन्त्रणमा लियो।

प्रहरीले उनीमाथि ग्राहकको रकम ठगी गरिहरेको आरोप लागेको छ। बचतकर्ताको रकम उनले आफन्त र अन्य चिने जानेको खातामा पठाएर ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनको यसखाले हर्कतको सूचना विभिन्न तरिकाबाट प्रहरीसम्म पुगेको थियो।

'हामीले उसलाई चैत २२ गते नै नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं,' जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले भने।

नीरज इटहरीबाट सुरुवा भएपछि पनि ठगी धन्दा भने निर्वाध चलिरहेको थियो। प्रहरीलाई यस प्रकरणमा अरूको पनि संलग्नता हुने आशङ्का बढ्यो। प्रहरीले थप अनुसन्धान जारी राख्यो। नभन्दै एभरेस्ट बैङ्कका अन्य कर्मचारीलाई पनि प्रहरीले समात्न थाल्यो। शुक्रवार थप ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको डिएसपी राईले बताए।

पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज नीरज प्रधान सहित, इटहरी शाखाका प्रवन्धक विश्वराज शाक्य, ३७ वर्षीय दावा लामा, २७ वर्षीय मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल रहेका छन्। त्यस्तै शङ्कर भुजेल र अजय खउजुलाई पनि प्रहरीले समातेको छ। पक्राउ पर्नेमा बैङ्कका शाखा प्रमुखदेखि टेलरसम्मका रहेका छन्। करिब पाँच महिनादेखि उनीहरूले ठगी धन्दा गरिरहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले सङ्गठित रुपमा ठगी गरेको देखिएको छ।

'एक जनाले सम्भव नहुने भएर सबै कर्मचारीसँग मिलेर ठगी धन्दा चलाएको देखिन्छ,' डिएसपी राईले भने।

घटनाको मुख्य योजनाकार भने बैक शाखाका अपरेसन प्रमुख नीरज भएको प्रहरीको दावी छ। उनीहरूले अहिलेसम्म ३३ जना ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ठगी गरेको देखिएको छ। उनीहरूले एउटा खाताबाट ७ लाख रुपैयाँसम्म झिकेको पाइएको छ।

'कम्तीमा डेढ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म झिकेको देखिएको छ,' डिएसपी राईले भने।

उनीहरूले इनएक्टिभ खातालाई समेत बैङ्कको सिस्टम दुरुपयोग गरेर एक्टिभ गरी रकम झिकेको खुलेको छ। उनीहरू विरुद्ध जिल्ला अदालतबाट बैङ्किङ कसुर र सङ्गठित अपराधमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीहरुमाथि प्रहरीले सङ्गठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell