काठमाडौं : हरेक वर्ष विश्वभरबाट राइडरहरु एक असल कामको लागि सडकमा मोटरसाइकल लिएर निस्किन्छन्। ‘डिस्टिङ्गुइस्ट जेन्टलमेन राइड (डीजीआर)’ संसारकै सबैभन्दा ठूलो ‘मोटरसाइक्लिङ च्यारिटी इभेन्ट’ हो।
यसको उद्देश्य ‘गुड कज’को लागि पुरानो समयको मोटरसाइकल, फेशन र विचारमाथि प्रकाश पार्नु हो। पुरुषको स्वास्थ्यको लागि ‘क्लासिक’ र ‘भिन्टेज’ मोटरसाइकलहरु यस राइडमा प्रदर्शन गर्ने गरिन्छ। ट्रायम्फ मोटरसाइकलले १० वर्षदेखि यस राइडको प्रायोजन गर्दै आइरहेको छ।
यसै अन्तर्गत काठमाडौंमा शनिवार डीजीआर अभियान्ताहरु सडकमा मोटरसाइकल लिएर निस्किए। राइडरहरु ज्ञानेश्वरदेखि कोटेश्वर, पाटन, कुपन्डोल दरबारमार्ग हुँदै पुनः ज्ञानेश्वर पुगे।
डीजीआरमा सहभागी हुन राइडरहरुले अनलाइनमार्फत आवेदन दिएका थिए। विश्वका अन्य शहरमा भने भोलि आइतवार यो राइड हुँदैछ। विश्वभरका ९०० शहरमा करिब ९० हजार राइडरहरु यसमा सहभागी हुने आँकलन गरिएको छ। यो अभियान अस्ट्रेलियाको सिड्नीबाट मार्क हाव्वाले सुरु गरेका हुन्।
राइडमा संकलन भएको कोषलाई स्थानीय र विश्वव्यापी रुपमा प्रोस्टेट क्यान्सर र ‘मोभेम्वर’को पुरुष मानसिक स्वास्थको अनुसन्धानमा खर्च गर्ने गरिएको छ। सन् २०१६ देखिको डीजीआरबाट संकलन भएको करिब ४० मिलियन डलर ‘मोभेम्वर’ले प्रोस्टेट क्यान्सर र पुरुष मानसिक स्वास्थ्यको अनुसन्धानमा खर्च गरिसकेको छ।