PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

कान्तिपुर हाफ म्याराथन: मुकेश र राजपुरा विजयी



पहिलोपोस्ट

कान्तिपुर हाफ म्याराथन: मुकेश र राजपुरा विजयी

काठमाडौं: त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले  नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन्। ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड निकाले। उनी पहिलोपल्ट विजेता भएका हुन्। त्यस्तै आर्मीकै राजन रोकाय दोस्रो हुँदा तीर्थ पुन तेस्रो भए।

महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन्। गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घन्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता भएकी हुन्। उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्ड लगाएकी थिइन्। पुलिसकै राममाया बुढा दोस्रो भइन्। त्यस्तै एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन्।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पाउने पुरस्कार पाए। दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन्।

त्यस्तै ह्विलचियरतर्फ रमेश खत्रीले उपाधि जितेका छन्। ३ किलोमिटर दुरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार गरेका थिए थिए। यो विधामा दान थिङ दोस्रो भए। महिलातर्फ ऐश्वर्या कुमाल विजेता भइन्। उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पुरा गरिन्। पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए।

कर्पोरेटतर्फ विकेश घिमिरे र सुनिता महर्जन कर्पोरेट रनतर्फ विजेता बने। ५ किलोमिटर दूरी विकेशले १४ मिनेट ३६.३ सेकेन्डमा पूरा गरेका हुन्। सुनीताले २३ मिनेट २३.९० सेकेन्डमा पूरा गरिन्।

त्यस्तै पुकारजंग बस्नेत र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन्। ७ किलोमिटर दूरी पुकारले २४ मिनेट ४७ सेकेन्डमा पूरा गरे। सुसनले निर्धारित दूरी २७ मिनेट २९.५६ सेकेन्डमा पूरा गरिन्।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell