PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

झम्सीखेलमा तीन पुस्ताका चित्रकारहरुको जमघट, क्यानभासमा संस्कृतिदेखि स्वतन्त्रताको खोजीसम्म

झम्सीखेलमा तीन पुस्ताका चित्रकारहरुको जमघट, क्यानभासमा संस्कृतिदेखि स्वतन्त्रताको खोजीसम्म

लक्ष्मी बलायर/पहिलोपोस्ट


काठमाडौं : ललितपुरको झम्सीखेलमा रहेको विइन्ड हर्स ग्यालेरीमा अहिले चित्रकला प्रदर्शनी भइरहेको छ। ‘थ्री जेन: अण्डर द मुन’ शीर्षक रहेको सामुहिक प्रदर्शनीमा तीनपुस्ताका कलाकारले बनाएका चित्रहरु राखिएका छन्। क्यानभासमा उनीहरुले आफूले देखेको समाज र साँस्कृतिक परिवेशलाई उतारेका छन्।

वरिष्ठ चित्रकार किरण मानन्धरले बनाएको चित्र पनि ग्यालेरीमा छ। प्रदर्शनीको संयोजक समेत रहेका मानन्धरले यस्ता कार्यक्रमले चित्रकलामा वर्षौंदेखि संलग्न व्यक्तिहरुबिच एकता र आत्मियताको भावना सिर्जना गर्ने सुनाए।

‘हामीभन्दा अघिल्लो पुस्ताहरु आफ्ना कलाहरु छोपेर राख्थे। आफू मात्रै बने। जुन कुरा पटक्कै चित्त बुझेको थिएन्। जसकारण सबै पुस्ता मिलेर काम गर्नुपर्छ भन्ने मेरो सोच थियो,’उनले भने,‘सिकाई बाँचुञ्जेल चलिरहन्छ। म त नयाँ पुस्तालाई गुरु भन्छु। उहाँहरु प्राविधिक कुरामा निकै अगाडि हुनुहुन्छ। नयाँ, बीच र पुरानो पुस्ता मिलेर काम गर्नुपर्छ भन्ने सन्देश दिन यो प्रदर्शनी राखेका हौं,’ उनले भने।

किरण क्यानभासलाई आफ्नो निजी बैंकको रुपमा व्याख्या गर्छन्। जहाँ उनी आफूभित्रका भावनाहरु कोर्छन् र, ती भावनामा रंग भर्छन्। त्यसलै त प्रदर्शनीमा राखिएका उनका पेन्टिङमा अमूर्त भावनाहरु झल्किन्छन्। पेन्टिङमा उनले रञ्जना लिपीलाई समेत समेटेका छन्। उनले भने,‘हामी धर्म र संस्कृतिबिना अपूर्ण हुन्छौँ। त्यसैले पेन्टिङमा रञ्जना लिपीलाई पनि राखेको छु।’  

किरणसहित पहिलो पुस्ताका चित्रकार विपिन कुमार घिमिरे, गोबिन्द लाल डंगोल, गौतम रत्न तुलाधार, आई. बी मल्ल, कृष्ण मानन्धर, शशी बिक्रम शाह, राधेश्याम मुल्मी, रागिनी उपाध्याय, श्याम लाल श्रेष्ठ र विजय थापाका चित्रहरु ग्यालरीमा देख्न सकिन्छ। त्यसैगरि, मध्यम पुस्ताका कलाकारहरु उमेश श्रेष्ठ, हरि जंग बोम्जन, एससी सुमन, डा. सीमा शर्मा, शुष्मा राजभण्डारी, उमा शंकर शाहले बनाएका चित्रहरु पनि प्रदर्शनीमा छन्। युवा पुस्ताका कलाकार अनिता भट्टराई, गौरव रत्न तुलाधार, कौशल श्रेष्ठ, प्रविण श्रेष्ठ, राजेश महर्जन, रत्न शाक्य, शंकर श्रेष्ठ, सुर्य दूतराज र सुस्मिता कुँवरका पेन्टिङहरुमा आधुनिक झल्किन्छ।

कलाकार उमेश श्रेष्ठ आध्यात्मिक र धार्मिक दर्शनमाथि रहेर काम गर्न रुची राख्ने बताउँछन्। उनले प्रदर्शनीमा राखेका चित्रमा बुद्धधर्म चित्रण गरिएको छ। ‘थ्री जेन: अण्डर द मुन’ प्रदर्शनीको शीर्षक र ‘कन्सेप्ट’ उमेशले नै तयार पारेका छन्।

तीनै पुस्ताका सिर्जना र अनुभव एकैठाउँमा ल्याउने उद्देश्यले यो प्रदर्शनी गरिएको उनले बताए।

‘नेपालमा सिनियर र जुनियर कलाकारबिच ग्याप छ। सिनियरले जुनियरलाई धेरै दु:ख गरेको छैनन् सोच्छन्। जुनियरले भने सिनियरहरुको दिन गइसक्यो भन्छन्। जुन ग्याप पुराना र नयाँ पुस्ता एकसाथ ‍नबसेर आएको हो। एकअर्काका भावनाहरु साटसाट नगरेर हो। त्यही ग्यापलाई हटाउँदै तिनै पुस्ता एकैठाउँमा अटाउनुपर्छ भनेर यो काम गरिएको हो,’ श्रेष्ठले भने।

किरण मानन्धरको छेउमै सुष्मा राजभण्डारीले बनाएका पेन्टिङहरु अटाएका छन्। सानैदेखि गणेश भगवानप्रति छुट्टै लगाव छ सुष्मालाई। हात्तीको टाउको र मानव शरीरको संयोजनले बनेको गणेशका आकृतिहरु उनको पेन्टिङमा देख्न सकिन्छ।

‘थ्री जेन: अन्डर द मुन’ थीममा आधारित रहेर तीन पुस्ताको क्रियटिभ आर्टलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना रहेको सुष्माले बताइन्। 

युवा चित्रकार अनिता भट्टराईको 'प्रिन्टमेकिङ' चित्रले महिलाको स्वतन्त्रतालाई आशालाई प्रस्तुत गरेको छ। ‘तारा विथ विङ्स’ थिममा राखिएका उनका कलाकृतिले घरपरिवार र सामाजिक मूल्य मान्यताले बाँधिएकी महिलाले स्वतन्त्र हुन खोजेको कुरालाई दर्शाउँछ।

अनितालाई कलाक्षेत्रमा लागेको १८ वर्ष भयो। तर,यसरी पहिलोपटक अग्रज कलाकारहरुसँगै आफ्ना पेन्टिङहरु देख्दा दंग छिन् उनी। ‘किरण सरहरु जस्तो अग्रज कलाकारहरु जसलाई सानैदेखि देखिरहेको। उमेर सरले त मेरो गुरु हो। सिनियर कलाकारहरुको बिचमा पेन्टिङ देखाउनु पाउनु गर्वको कुरा हो,’ उनले भनिन्।

बुद्धजयन्तीको अवसरमा सुरु भएको प्रदर्शनी जेठ १२ गतेसम्म चल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell