PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

वाग्मतीको मन्त्रिपरिषदले आज पूर्णता पाउने, दिउँसो नयाँ मन्त्रीहरुको शपथ



निशा गुरुङ

वाग्मतीको मन्त्रिपरिषदले आज पूर्णता पाउने, दिउँसो नयाँ मन्त्रीहरुको शपथ

हेटौंडा : वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। सरकार गठन भएको ५७ औँ दिनमा मन्त्रिपरिषदले पूणर्ता पाउन लागेको हो।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिचको गठबन्धन सरकार फेरबदल भएसँगै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग मिलेर चैत १० गते प्रदेश सरकार पुनःगठन गरेको थियो। करिब दुई महिनामै प्रतिपक्षको बेञ्चबाट सत्तामा आइपुगेको कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएका थिए।

दोस्रो पटक विश्वासको मत पाएसँगै सरकारको नेतृत्व गरिरहेका जम्मकट्टेललाई मन्त्रिपरिषद् विस्तारमा निकै कठिनाइ भएको थियो। प्रादेशिक तहमै कार्यदल बनाएर सरकार विस्तारको बाटो तय गर्न चाहेका जम्मकट्टेललाई कांग्रेसको अडानले सहज हुन सकेको थिएन। प्रदेश गठबन्धन तहमा पटक-पटकको वार्ता सफल हुन नसकेपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते साँझ बालुवाटारमा नेताहरू बोलाएर सहमति गराएपछि वाग्मतीमा सरकार विस्तारको गाँठो फुकेको थियो।

विवाद मिलेपछि आज प्रदेश प्रमुखको कार्यालयमा दिउँसो २ बजेका लागि मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ। सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले आज दिउँसो शपथ ग्रहण हुन सक्ने बताए।

११ सदस्यीय मन्त्रिपरिषद् रहेको वाग्मतीमा ५ मन्त्री नियुक्त हुन बाँकी छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय र नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय गरी २ वटा मन्त्रालय मात्रै सम्हाल्दै आएको थियो।

कांग्रेसबाट पहिलो चरण अर्थात चैत २६ गते आर्थिक मामिलामन्त्रीमा दलका नेता बहादुरसिंह लामा र खानेपानीमन्त्री काभ्रेका सांसद तिर्थ लामा नियुक्त भएका थिए। केही दिनअघि मात्रै मुख्यमन्त्री जम्मकट्टेलले आन्तरिक रूपमा मन्त्रालय भागबन्डा लगाउँदै कांग्रेसलाई आफूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी दिएका थिए। जसअन्तर्गत आज पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा कांग्रेसबाट नयाँ मन्त्री नियुक्त हुने जनाइएको छ।

भागबन्डाअनुसार फेरबदल नभए एकीकृत समाजवादीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय टुंगो लागेको छ। नेपाली कांग्रस र एकीकृत समाजवादीले भने हालसम्म मन्त्री बन्नेको नाम दिएका छैनन्। 

सरकारका प्रवक्ता तथा कानुन मन्त्री श्रेष्ठले मन्त्रालय संख्या बढ्ने सम्भावना नभएको बताएका छन्।

वाग्मती प्रदेशसभामा कूल ७ वटा दलको प्रतिनिधित्व छ। प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन्। मुख्यमन्त्री जम्मकट्टेललाई हाम्रो नेपाली पार्टीले पनि विश्वासको मत दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell