PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दर्जनलाई प्रतिवादी बनाएर ४ भन्दा बढी मुद्दामा रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दर्जनलाई प्रतिवादी बनाएर ४ भन्दा बढी मुद्दामा रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल प्रहरीले आज बुझाउँदैछ। सरकारी वकिल कार्यालय, काठमाडौंमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। ५५ दिन लामो अनुसन्धानपछि करिब तीन दर्जन मानिसलाई प्रतिवादी बनाएर फाइल बुझाउन लागेको हो।

चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। बैशाख ४ गतेसम्म प्रहरीको धरपकड भने जारी नै रह्यो। बैशाख ५ गते शरणार्थीका नेता टेकनाथ रिजाललाई पक्राउ गरेको थियो। सोही दिन जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई सिंहदरबारबाट पक्राउ गरेको थियो।

५५ दिनसम्म आइपुग्दा नक्कली शरणार्थी प्रकरणमा १६ जना समातिसकेका छन्। जसमा पूर्वउप प्रधानमन्त्री, पूर्व गृहमन्त्रीदेखि नेपाल सरकारका सचिवसम्म रहेका छन्। जसले पनि यस प्रकरणलाई प्रहरीको अनुसन्धानमा हाइप्रोफाइल जोडिएको अनुसन्धान मानिएको छ। भुटानी शरणार्थीलाई तेस्रो देशमा व्यवस्थापन गर्ने भएकाले यो राष्ट्रियमात्र नभएर अन्तराष्ट्रिय चासोको बिषय पनि बनेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न चारवटा भन्दा बढी मुद्दामा अदालत लैजाने रायसहितको प्रतिवेदन बुझाउन लागेको हो। प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्को अपराध, लिखित कसुरमा कारबाही गर्ने सुझाव दिएको छ। अहिलेसम्म प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ। त्यस्तै अन्य १६ जनालाई प्रतिवादी बनाइएको छ। प्रहरीले केही मानिसको विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउपूर्जी जारी गरेको छ।

२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो।

चैत १५ गते मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई पक्राउ परेका थिए। दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए। २० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गर्‍यो। त्यसपछि त यो प्रकरण एकाएक सतहमा आयो। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उप राष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो। त्यही दिन एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए। उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

वैशाख २७ गते बिहानै काठमाडौंको चुच्चेपाटीबाट पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण समातिए। यसले राजनीतिक क्षेत्रमा नयाँ तरंग ल्यायो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए।

११ दिन फरार रहेका टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंबाट समातिए। कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरे। इन्द्रजित राईका छोरा निरज र रामबहादुर थापा बालदका छोरा प्रतिक भने फरार रहेका छन् अझै।

प्रहरीले राय सहितको प्रतिवेदन बुझाएपछि अध्यायन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell