काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै ओलीले पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १२ मा गठबन्धन फेरेको भन्दै ओलीले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्।
'सरकारको मुटु प्रत्यारोपण भइसकेको भए पनि नीति तथा कार्यक्रम मैले पनि पढेँ,' उनले भने। ओलीले सरकारले ल्याउको नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज भएको टिप्पणी गरे। प्रचण्ड सरकारको चर्को आलोचनामा उत्रिएका ओलीले यसअघि गठबन्धन नेतामाथि नै आक्रोश व्यक्त गरेका थिए।
पुस १० मा एमालेको पहलमा ७ दलीय गठबन्धनको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने पनि फागुन १२ को राष्ट्रपतिको उम्मेदवारको मनोनयमा गठबन्धन टुटेको थियो। त्यसयता ७ दलीय गठबन्धनमा रहेका दलमध्ये एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रतिपक्षीको बेञ्चमा छन्।