काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच महिनापछि संसदमा चुनावी पराजयको झोक पोखेका छन्। सत्ता पक्षले मंसिरमा भएको चुनावमा व्यापक धाँधली गरेको आरोप ओलीले सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै लगाएका हुन्। आइतवार संसदमा ओलीले भने, 'मतगणना नभइ परिणाम घोषणा भइसकेको छ। निर्वाचनमा सत्तापक्षबाट व्यापक धाँधली भएको छ।'
अध्यक्ष ओलीले मान्छेको मृत्यु भइरहेको बेला मतगणना गरेर यस्तो चुनावलाई शान्तिपूर्ण घोषणा भनेकोमा व्यङ्ग्यसमेत गरे।
'मान्छेको मृत्यु भएको छ। मान्छे घाइते भएका छन्। बुथ कब्जा भएको छ,' ओलीको आरोप थियो, 'गणना नसकिँदै घोषणा भएको छ। यस्तो चुनावलाई शान्तिपूर्ण रे। के ती मानिसले आत्महत्या गरेका हुन्?'
जनतालाई घरबाट तानीतानी हत्या गरिएकोलाई शान्तिपूर्ण भनिनु नै अचम्म लाग्दो भएको ओलीको आरोप थियो।
'कुटीकुटीकन घरमा गएकालाई तानी तानीकन हत्या गरिएको छ। शान्तिपूर्ण चुनाव नाम राख्छ,' ओलीले भने, 'म आज पनि दोहोर्याउन चाहन्छु। सम्पूर्ण निर्वाचनमा मान्छे मारिएका छन्।'
गत मंसिर ४ मा भएको निर्वाचनमा बाजुरामा गोली चल्दा एक युवाको मृत्यु भएको थियो।
मंसिरको निर्वाचन परिणामलगत्तै एमालेको सहयोगका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए। पुस १० गते गठबन्धन भत्काएर सरकारमा गएको एमाले अध्यक्ष ओलीले त्यतिबेला चुनावको विषयमा संसदमा कुनै धारणा राखेका थिएनन्।
एमालेलाई छाडेर कांग्रेस गठबन्धनमा लागेपछि अध्यक्ष ओली प्रचण्डसँग चिढिएका हुन्। आजै ओलीले प्रचण्डलाई मुटु प्रत्यारोपण गरेको सरकारसमेत भन्न भ्याए।