काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पूर्व वाचा अनुसार प्रतिनिधि सभाको आइतवारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे 'मुख खोलेका' छन्।
नक्कली शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको जेठ ४ गतेकै बैठकमा बोल्ने वाचा गरेका थिए ओलीले। वैशाख २८ गतेको एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीले संसदमा बोल्ने वाचा गरेका हुन्। तर, ४ गतेको बैठकमा ओली आफैँ अनुपस्थित रहे। अस्वस्थ भएका कारण बैठकमा उपस्थित नभएको ओलीले त्यसैदिन सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए।
'नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु,' ओलीले सामाजिक सञ्जालमार्फत् भनेका थिए।
जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नोतर गरे भने सरकारले जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो।
आज भने 'डिटेल'मा बोल्न नचाहेको भन्दै उनले अपराधलाई ढाकछोप गर्न दुस्सासहस नगर्न सरकारलाई चुनौती दिए।
‘कसलाई फसाउनु छ, के गर्नु छ। बयानको सन्दर्भ कसरी अगाडि बढाइँदैछ। हामी पनि यस देशमै छौं। हामीले पनि राजनीति गरेको वर्ष पनि अलि बढी नै भयो,’ उनले भने।
‘उपप्रधानमन्त्री भएका बेला पहल गरेँ’
उनले भुटानी शरणार्थी झापामा आएर बसेपछि नेपाल सरकारका तर्फबाट आफूले पटकपटक वार्ता गर्दा भुटानले शरणार्थीबारे सुन्नै नचाहेको बताए।
‘नेपालको पूर्वको झापामा रहेका भुटानी शरणार्थी प्रकरणबारे भुटान नामै लिन चाहन्न। कहाँकहाँबाट जम्मा गरेको भन्छ त्यसो भएपछि भुटान समस्या समाधान गर्न तत्पर छैन भनेर गृहमन्त्रीको हैसियतले भनेँ,’ ओलीले सुनाए। अन्तर्राष्ट्रिय समुदायलाई वार्ता भइरहेको सन्देश दिनमात्रै पटकपटक वार्ता भएको ओलीको भनाइ थियो।
‘उहाँहरु १६ औं राउण्डको वार्ता गर्न चाहनुहुन्थ्यो। त्यसपछि हवानामा भुटानका परराष्ट्र मन्त्रीसँग मैले कुरा गरेँ। त्यसमा पनि कुरा गरेँ, अझ प्रष्ट ढंगले फिर्ता नलिने भन्ने कुरा थाहा पाइसकेपछि। सन् २००६ को सेप्टेम्बर बैठकमा संयुक्त राष्ट्रसंघको फोरममा मैले कुरा उठाएँ,’ ओलीको भनाइ थियो।
अमेरिकाले एक लाखलाई आफ्नो देशमा बसोवासको व्यवस्था गर्ने भनेको र बाँकीलाई थर्ड कन्ट्री सेटलमेन्ट गर्न त्यतिबेलै सहमति भएको ओलीले बताए।
‘हाम्रो देशमा भएका भुटानी शरणार्थी प्रकरणबारे वासिङट्न डिसीमा तत्कालीन अमेरिकाको परराष्ट्रमन्त्रीसँग कुरा भयो। उहाँले १ लाख शरणार्थीलाई लिने कुरा भएपछि म खुशी भएँ,’ उनले भने, ‘बाँकी रहेकालाई ठूलो ठूलो भूभाग भएका देशसँग कुरा गरेर थर्ड कन्ट्री सेटलमेण्ट गर्ने कुरा भयो। केहीकेही सञ्चार माध्यम केपी ओलीले नै सुरु गरेको रहेछ। किन नसमाउने? भनेछन्। धन्यवाद दिनु त कता हो कता!’
‘जुँगामा ताउ लगाउनुपर्ने कारण छैन’
आफूले नक्कली शरणार्थी प्रकरणबारे काम गरेको भनेर प्रधानमन्त्रीले धाक लाउन नहुने ओलीको भनाइ छ। उनले सरकरले छानविन गर्नुपर्ने, अरु केही पनि नगरेको बताए।
‘सरकारले छानबिन गर्नुपर्यो। आफूले कत्ति न बाघ मारे जस्तो। गृह मन्त्रीज्यू खुब हल्ला गरिरहेको देखिरहेको देख्छु। जुँगामा ताउ लगाउनुपर्ने कारण छैन। गएको वर्ष जेठमा उधुम भएको रहेछ। त्यतिबेला किन छोडियो? त्यतिबेला म सरकारमा थिइन,’ ओलीले भने। उनले सरकारले गठबन्धनका लाई एउटा र गठबन्धन बाहिरकालाई अर्के व्यवहार गरेको आरोप पनि लगाए। सरकारको अनुसन्धान निष्पक्ष हुनुपर्ने उनको भनाई थियो।
भुइचालो आयो, छेक्न रोक्न सकिँदैन थियो !
ओलीले सरकारका कारण अहिले नक्कली शरणार्थी प्रकरण चर्चामा आएको नभइ भुइचालोका रुपमा आएको टिप्पणी गरे। उनले सरकारले चाहेर पनि रोक्नसक्ने स्थिति नआएपछि बिस्फोट भएको बताए।
'यो त आफै बिस्फोट भएर आयो। यो त भुइचालो आयो। छेक्न रोक्न सकिँदैन थियो। जम्मा शरणार्थी १ लाख ३ सय ७ जना थर्ड कन्ट्री सेटलमेन्टका लागि उडेका छन्। मेरो समयमा केही पनि भएको छैन। एउटा समिति बनेछ। त्यो समितिले प्रतिवेदन पठाएछ। मैले अध्यन गर्ने भनेर होल्ड गरेँ,’ ओलीले भने।
आफू सरकारमा भएका बेला अहिलेको गठबन्धनले कामै गर्न नदिएको र खाली बिरोधमात्रै गरेको ओलीको आरोप थियो।
‘त्यतिबेला त मलाई पिङ खेलाएको खेलाइ। भित्तामा पुर्याउँछु भनेको छ। धुलोमा मिलाउँछु भनेको छ। त्यसपछि सरकारले अघि बढाएछ,’ उनले भने।
ओलीले गत वर्षको जेठ महिनामै शरणार्थी प्रकरणमा केहि व्यक्तिलाई समातेको र सरकारकै दवावमा छोडिएको आरोप लगाए।
‘त्यतिखेर कागज फेरियो। माथिको कभर त्यहीँ राखियो। तल व्यक्तिको सूची अर्कै राखियो। खोज्नस् न। केपी ओलीलाई गाली गर्न रहर लागेको छ भनेर गाली गर्ने?,’ उनले भने।
एमालेले म्याउँ गर्दैन
उनले एमाले भ्रष्टाचारका विरुद्ध सधैं उभिएको बताए। तर, निर्दोषलाई फसाउन खोजे स्थिति भयाभह हुने चेतावनी दिए।
‘छानबिन होस् म चुनौतिका साथ भन्न चाहन्छु। कोही पनि दोषी छुट्न हुँदैन। निर्दोष फसाउन नखोजे हुन्छ। अझ भयाभह रुपमा निस्किन्छ। नौ सय ७५ जनासँग पैसा उठाएको छ। यो चानचुने कुरा हो। कुनै पनि दोषी नउम्किउन्। मेरो पार्टीको तर्फबाट भन्न चाहन्छु,’ उनले भने।
उनले ठूला पार्टीका शीर्ष नेताको भेटबारे पनि संसदमा टिप्पणी गरे। भुटानी शरणार्थी प्रकरणबारे नभइ संसदका अरु प्रक्रियाका बारेमा नेताबिच छलफल भएको ओलीको दाबी छ।
‘तीन वटा प्रमुख पार्टीका नेता भेट्दा सन्देह पैदा भयो। के भनेको त्यस्तो? देशको अवस्था यस्तो छ नेताहरु छलफल गर्दैनन्? जटिल प्रकारका बनावटहरु हुन्छन्। त्यसलाई कसरी 'स्मुथ्ली' लिने? त्यसबारे छलफल हुँदैन? दुई जना दूधमा नुहाएका अनि म चाहिँ मेरो नेता बचाइदेउ भनेर 'म्याउ म्याउ' गर्ने ! बाघ भोकै मर्ला। घाँस खाँदैन भन्छन् नि। एमाले पनि त्यस्तै,’ उनले भने।