PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

आईपीएलको प्लेअफमा बेङ्ग्लोर, मुम्बई र राजस्थानको नजर : यस्तो छ समीकरण



पहिलोपोस्ट

आईपीएलको प्लेअफमा बेङ्ग्लोर, मुम्बई र राजस्थानको नजर : यस्तो छ समीकरण
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल)मा जारी सिजन तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन्। जसमा गुजरात टाइटान्स, चेन्नइ सुपर किंग्स र लखनउ सुपर जायन्ट छन्।

त्यस्तै, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, पञ्जाब किंग्स र कोलकाता नाइटर राइडर्स प्लेअफको होडबाट बाहिरिसकेका छन्।

चार टोली प्लेअफमा पुग्ने हुँदा बाँकी रहेको एक स्थानमा तीन टोलीले नजर बनाएर राखेका छन्। जसमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर, मुम्बई इण्डियन्स र राजस्थान रोयल्स छन्।

कस्तो छ समीकरण?

अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटान्सले १३ खेलबाट १८ अंक जोड्दा दोस्रो र तेस्रो स्थानमा रहेका चेन्नइ र लखनउले समान १७ अंक जोड्दै प्लेअफमा सुरक्षित भइसकेको छ। चौथो स्थानमा बेङ्ग्लोर, राजस्थान र मुम्बईको नजर छ।

बेङ्ग्लोर र मुम्बईले १३ खेलबाट तथा राजस्थानले १४ खेलबाट समान १४ अंक जोडेका छन्। त्यसपछिका चार टोली प्लेअफको होडबाट बाहिरिसकेका छन्।

आइतवार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र हैदराबाद तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र गुजरात टाइटन्स भिड्नेछन्। यही खेलबाट निर्क्योल हुनेछ प्लेअफ पुग्ने अन्तिम टोली।

प्रष्ट रुपमा भन्दा बेङ्ग्लोर र मुम्बईमध्ये एक टिमले आइतवारको खेल जिते सोही जित्ने टिम प्लेअफमा पुग्नेछ। दुवै टोलीले जिते रनरेट निर्णायक बन्नेछ। र, यदि यी दुवै टोलीले पराजय ब्यहोरे बेङ्ग्लोर र राजस्थानबिच रनरेटमा अगाडि रहने टोली प्लेअफमा पुग्नेछ।

यी टिममध्ये प्लेअफ पुग्न कसलाई कस्तो नतिजा चाहिएको छ?

बेङ्ग्लोर : फाफ डुप्लेसिसको कप्तानीमा रहेको बेङ्ग्लोरको १३ खेलबाट १४ अंक छ। रनरेट +०.१८० छ। प्लेअफ पुग्न बेङ्ग्लोरलाई आइतवारको खेलमा सहज जित काफी हुनेछ।

यदि बेङ्ग्लोरले गुजरातसँग पराजय ब्यहोर्छ भने पनि हारको अन्तर पाँच रन भन्दा कम हुनुपर्छ ताकी रनरेट राजस्थानको भन्दा राम्रो रहोस्। त्यस्तै, मुम्बई इण्डियन्स हैदराबादसँग पराजित होस्।

राजस्थान रोयल्स : चौथो स्थानमा रहँदै प्लेअफमा पुग्नका लागि राजस्थानलाई भाग्यकै साहारा लिनुपर्ने हुन्छ। १४ खेलबाट १४ अंक जोडेको राजस्थानको रनरेट ०.१४८ छ। यसमा उसलाई हैदराबादको मुम्बईमाथि जित र गुजरातको बेङ्ग्लोरमाथि ५ रन भन्दा फराकिलो जितको आवश्यकता हुनेछ।

मुम्बई इण्डियन्स : पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई १३ खेलबाट १४ अंक जोडेर तालिकाको छैठौँ स्थानमा छ। मुम्बईको रनरेट -०.१२८ छ।

प्लेअफ पुग्नका लागि उसले आफ्नो अन्तिम खेल जितेर मात्र पुग्दैन गुजरातले बेङ्ग्लोरलाई पनि हराउनु पर्छ। यदि मुम्बई र बेङ्ग्लोर दुवैले जित निकालेको खण्डमा मुम्बईको जितको अन्तर बेङ्ग्लोरको जितको अन्तरभन्दा ८० रन भन्दा धेरै भएको खण्डमा मात्र प्लेअफ पुग्नेछ।

आइतवारको खेल

मुम्बई इण्डियन्स भर्सेस सनराइजर्स हैदराबाद, दिउँसो ३:४५ बजे

रोयल च्यालेन्जर्स बेङ्ग्लोर भर्सेस गुजरात टाइटन्स, साँझ ७: ४५



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell