काठमाडौं : नेकपा एमालेका सांसद दयालबहादुर शाहीले असंसदीय भाषा प्रयोग गरेको भन्दै सत्ता र प्रतिपक्षका सांसदबिच भनाभन भएको छ। प्रतिनिधि सभामा छलफलका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमाथि बोल्न सांसद दयालबहादुर शाही रोष्ट्रममा पुगेका थिए।
उनी बोलिरहेकै बेला नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमार्फत हरेक विषय संसदमा भन्नुपर्ने भए पनि उनले त्यसो नगरी नेताहरुको नामै लिएर अपमान गरेको भन्दै नियमापत्ति गरेकी थिइन्। उनले नियमापत्ति गरेपछि एमालेका सांसदहरुले पनि बिरोध गरेका थिए।
सांसद शाहीले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरी 'अधिनायकवादी तानाशाही' भनेपछि माओवादीका सांसदहरुले टेबलसमेत ठोकेका थिए। यसैगरी शाहीले कांग्रेसका दुई महामन्त्रीको नाम लिँदै गहतको झोलमा जात फालेको आरोप लगाएका थिए।
'कांग्रेसका महामन्त्री ज्यू गगन थापा र विश्वप्रकाश शर्मा। मेरो जिल्लाका सहमहमन्त्री बद्री पाण्डे ज्यू तपाईंहरुलाई अलिकति पनि संकोच लागेन? सत्ता स्वार्थका लागि विपीको सिद्धान्तलाई छोड्ने?' शाहीले भने,' अहिले एकदलीय अधिनायकवादी हुने। प्रचण्ड कमरेडले आसा देखाउनुहुन्न। विमुख बनाउनु हुने अवसर छोप्ने कुरा गर्नुहुन्छ। कांग्रेसका दिग्गज व्यक्तिहरु कांग्रेसका पुच्छर हुने। गहतको झोलमा कांग्रेसका साथीहरुले जात फाल्नुभएको छ।'
सत्तापक्षका अरु सांसदले पनि शाहीको बोली संसदको रेकर्डबाटै हटाउनुपर्ने माग गरेपछि उपसभामुख इन्दिरा रानाले रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएकी थिइन्।