PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

राष्ट्रिय ललितकला प्रदर्शनी : ६१० कलाकारका ६९७ कलाकृति राखिने



पहिलोपोस्ट

राष्ट्रिय ललितकला प्रदर्शनी : ६१० कलाकारका ६९७ कलाकृति राखिने

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशैभरका कलाकारलाई समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी - २०८०’ आयोजना गर्ने भएको छ। प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट प्रदर्शनी शुरु हुने औपचारिक घोषणा गरिएको हो।

यसपटकको प्रदर्शनीमा सातै प्रदेशका ६१० कलाकारहरुका ६९७ कलाकृतिहरु समेटिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानमा आएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट उक्त संख्या छनोट गरिएको हो।

प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका साथै आधुनिक चित्रकला, वस्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति प्रदर्शनीमा राखिनेछ। साथै कार्टुन तथा फोटोसमेत प्रदर्शनीमा राखिनेछन्।

त्यसैगरि, प्रतिष्ठानले यसवर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान मदन चित्रकार र मानबहादुर दोङलाई दिने गर्ने निर्णय गरेको छ। दुबैले सम्मानसहित १/१लाख रुपैयाँ पुरस्कार पाउनेछन्। राष्ट्रिय ललितकला लेखन तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार भने क्रमश: नगेन्द्रप्रसाद पौड्याल र नारायणप्रसाद ढुंगानालाई प्रदान गरिनेछ।

कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, वाग्मती प्रदेशबाट वाङ्छु मोक्तान(आरके), गण्डकीबाट विश्वम्भर बस्नेत, लुम्बिनीबाट रम्बा चौधरी, कर्णालीबाट सोनम लामा र सुदूरपश्चिमबाट चक्रबहादुर थापाले यसवर्षको ललितकला प्रादेशिक पुरस्कार पाउनेछन्।

त्यस्तै, विभिन्न विधामा उत्कृष्ट र विशेष पुरस्कारहरु पाउने कलाकारको नामसमेत सार्वजनिक गरिएको छ। जसअन्तर्गत समसामयिक चित्रकलामा उद्धवराज रिमाल, परम्परागत चित्रकला विधामा राज प्रकाशमान तुलाधर, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाविधामा विनय रिमाल, हस्तकला विधामा ज्ञानीराज बज्राचार्य, लोककथा विधामा नम्रता सिंह, परम्परागत मूर्तिकला विधामा जेरोम महर्जन र समसामयिक मूर्तिकलामा रिसितम खत्रीलाई यसवर्षको राष्ट्रिय ललितकला पुस्कार प्रदान गरिनेछ।

साथै यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवर्द्धन सम्मान संगीता थापा र राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिनेछ। ‘म, मेरो देश र मेरो सिर्जना’ थिम रहेको प्रदर्शनी नक्सालस्थित प्रतिष्ठानको हल र बबरमहलस्थित आर्ट काउन्सिलमा जेठ ३० गतेसम्म चल्नेछ।

यसवर्षको प्रदर्शनीमा संख्यात्मक हिसाबले धेरै कलाकारको सहभागिता रहने प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले बताए। संख्यामा मात्र नभई कलाकृतिको गुणस्तरमा समेत बृद्धि भएको उनको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell