काठमाडौं : नेसनल स्पोर्ट्स काउन्सिल(एनएससी) काभा महिला भलिबल च्यालेन्ज कप सोमवारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइपुगिसकेका छन्।
सोमवार नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। उद्घाटन खेलमा उज्बेकिस्तान र श्रीलंका मंगलवार बिहान साढे ९ बजे भिड्नेछन्।
यो कप नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो प्रतियोगितामा पर्दछ। नेपाली भलिबल टोलीलाई यसअघि सेन्ट्रल जोन भलिबलमा ब्याक-टू-ब्याक च्याम्पियन बनेको विरासत जोगाउने चुनौति हुनेछ भने संघलाई भने व्यवस्थापन चुस्त पार्ने चुनौति।
सोमवार प्रतियोगिताको पूर्व सन्ध्यामा संघले फितलो तयारीका बीच पत्रकार सम्मेलन गरेको थियो। जसमा सबै प्रतिस्पर्धी टोलीका कप्तानहरु आइसकेपछि माइकको व्यवस्था नहुँदा उनीहरुसँग संवाद कायम गर्न कठिनाइ भएको थियो। त्यस्तै तीन देशका कप्तानहरुले अंग्रेजी नबुझ्दा कठिनाइ भएको थियो। अनुवादकको व्यवस्था नहुँदा दोहोरो संवाद नभइ प्रेस कन्फ्रेन्स सकिएको थियो।
प्रतियोगितामा आएका टोलीका कप्तानहरु सबैले मेडल आफ्नो लक्ष्य रहेको बताए।
नेपालले प्रतियोगिताका लागि २ महिनाभन्दा बढी प्रशिक्षण भएको उल्लेख गर्दै कप्तान अरुणा शाहीले नतिजा राम्रो आउने आशा रहेको बताइन्। उनले लक्ष्य च्याम्पियन नै रहेको बताइन्। उनले मैत्रीपूर्ण खेलको माग गरेको भए पनि बजेटका कारण सफल नभएको बताइन्।
'सकेसम्म मैत्रीपूर्ण खेल खेल्न पाए हुन्थ्यो भनेर हामीले संघसँग कुरा राखेका थियौँ। सबै कुरा बजेटमै आएर रोकिने हो,' शाहीले भनिन्, 'गेम गर्नु नै हाम्रो लागि ठूलो कुरा भयो। त्यसैले हामीले संघलाई धेरै फोर्स पनि गरेनौँ।'
कप्तान शाहीले महिलाको अन्य टोलीसँग खेल्न नपाए पनि नेपालकै पुरुष टोलीसँग खेल अभ्यास गरेको बताइन्।
नेपाली महिला भलिबल टोलीले यसअघि बंगलादेशमा सम्पन्न दुई संस्करणको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो।