PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आर्थिक संकटबाट ग्रुजिएको अमेरिका चीनसँग व्यापार वार्ता थाल्दै, अमेरिकी मन्त्री बेइजिङ भ्रमण गर्न तयार



विधुर ढकाल

आर्थिक संकटबाट ग्रुजिएको अमेरिका चीनसँग व्यापार वार्ता थाल्दै, अमेरिकी मन्त्री बेइजिङ भ्रमण गर्न तयार
Photo:globaltimes.cn

सांघाईं: अमेरिकी आकाशमा चिनियाँ 'स्पाई बलुन' खसालिएपछि चिसिएको चीन अमेरिका सम्बन्ध र यसले पुर्‍याएको आर्थिक क्षतिको न्यूनीकरणका लागि दुबै देशका उच्च अधिकारीहरुले संवादलाई सुरु गरेका छन्।

यसै साता चिनियाँ वाणिज्यमन्त्री अमेरिका भ्रमणमा जाने त्यहाँस्थित अमेरिकी दूतावासको ब्रिफिङलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। भ्रमणसम्बन्धी जानकार स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ - एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) का व्यापार मन्त्रीहरूको बैठकका लागि डेट्रोइट जानुअघि चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले अर्को साता वासिङ्टनमा वाणिज्यमन्त्री जिना राइमोन्डोसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै वाङले मे २५-२६ मा तय एपेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा अमेरिकी व्यापार प्रतिनिधि क्याथरिनसँग भेट गर्ने समाचारमा उल्लेख छ।

बिग्रिएको सम्बन्धलाई सुधार्न अमेरिकाले बेइजिङसँग सहकार्य गर्न चाहेको अबस्थामा वासिङ्टनस्थित चिनियाँ दूतावासले भनेको छ -बेइजिङ संयुक्त राज्य अमेरिकासँग सबै तहमा सञ्चारका लागि खुला थियो, तर पारस्परिक सम्मानको आधारमा मात्र।

चिनियाँ र अमेरिकी व्यापार मन्त्रीहरूको आगामी बैठक बहुप्रतीक्षित रहेको र यसले सकारात्मक सन्देश दिएको र दुवै पक्षले आर्थिक तथा व्यापारिक सम्बन्धको महत्वलाई बुझेको र सम्बन्ध सुधार गर्न तयार रहेको देखाएको चिनियाँ विज्ञहरूले बताएका छन्।

बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सका चाइना इन्स्टिच्युट फर डब्लुटिओ स्टडिजका डिन तु सिनक्वानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमण रद्द भएपछिको महत्त्वपूर्ण बैठक हुने ग्लोबल टाइम्सलाई बताएकी छन्।

यसबाहेक, अमेरिकी अधिकारीहरूले चीनमाथि बढ्दो दबाबका बाबजुद पनि सुस्ताएको अमेरिकी अर्थ व्यवस्थालाई बलियो बनाउन बेइजिङसँग व्यापार साझेदारलाई अगाडि बढाउन जुटेका हुन्। यो सम्बादपछि अमेरिकी वाणिज्य अधिकारीहरुले बेइजिङको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

'अमेरिकी वरिष्ठ आर्थिक तथा व्यापारिक अधिकारीहरूको सम्भावित चीन भ्रमणले के देखाउँछ भने अमेरिकाले चीनमाथि बढ्दो दमनका बाबजुद सुस्त अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउन चीनसँग व्यापार सहयोग सुदृढ गर्ने लक्ष्य राखेको छ,' चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जका प्रमुख अनुसन्धाता झाङ यान्सेङले ग्लोबल टाइम्ससँग भनेका छन्।

अमेरिकामा अहिले वित्तीय संकट बढ्दै गएको छ। अमेरिकी केही बैंक रुग्ण भएका छन्। यस्तो अवस्थामा अमेरिका चीनसँग व्यापार साझेदार गरी संकट कम गर्न चाहन्छ। सन् २००८ को वित्तीय संकटका बेला पनि अमेरिकी ट्रेजरी सेक्रेटरी हेनरी पाउलसन बेइजिङको भ्रमण गरेका थिए। त्यतिबेला चीनले ठूलो मात्रामा अमेरिकी ट्रेजरी बन्ड खरिद गरेको थियो।

गत वर्ष मात्र चीनले १२२ बिलियन बराबरको अमेरिकी ऋण किनेको थियो। यस्तो ऋण अमेरिकी सरकारले जारी गर्ने ट्रेजरी बन्ड हो। अमेरिकी बण्ड खरिद गर्नेमा चीन जापानपछिको दोस्रो देश हो। २०२२ को अगस्टमा मात्र अमेरिकी सरकारको ट्रेजरी मध्ये ९७१.८ बिलियन डलर बराबरको स्वामित्व एसियाली देशले किनेका थिए। जुन अमेरिकाको कुल ऋणको १३ प्रतिशत हो। २०२१ सम्मको तथ्यांक अनुसार २८ ट्रिलियन डलर बराबरको अमेरिकी राष्ट्रिय ऋणमध्ये १.०९५ ट्रिलियन बराबरको ऋण चीनले खरिद गरेको छ।

त्यस्तै २०२१ कै तथ्यांक अनुसार चीनको केन्द्रीय बैंकसँग ३.३ ट्रिलयन अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चित छ। विशेषगरी अमेरिकासँगको व्यापार असन्तुलन कम गर्न चीनले अमेरिकी ट्रेजरी किन्ने गर्छ। २०२२ को अगस्टमा मात्र चीनसँगको अमेरिकी व्यापार घाटा ३७ बिलियन डलर थियो।

गत फेब्रुअरीमा अमेरिकी आकासमा पुगेको चिनियाँ मानवरहित बेलुनलाई अमेरिकाले खसालेको थियो। चीनले वातावरणीय प्रभाव अध्ययनका लागि छाडिएको बेलुनले बाटो बिराएको दाबी गर्दा अमेरिकाले भने चीनले गुप्तचरीका लागि प्रयोग गरेको 'स्पाइ बेलुन'को संज्ञा दिँदै अमेरिकी सेनाको युद्धक विमानले खसालेको थियो। त्यस घटनापछि अमेरिकी विदेशमन्त्रीको अपेक्षित बेइजिङ भ्रमण रोकिएको थियो।

तर, पछिल्ला साता दुई देशबीच संवाद तथा उच्चस्तरीय भ्रमण आदान-प्रदानको संकेत देखिएका छन्।

यसैबीच गत साता मात्र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको विदेश मामिला आयोगका कार्यालयका निर्देशक तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङ यीले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग मे १० र मे ११ मा भियनामा १० घण्टा लामो वार्ता गरेका थिए। वार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, ताइवान मामिला, एसिया प्रसान्तको स्थिति र युक्रेन संकट लगायतका विषयमा छलफल भएको थियो।

'दुवै पक्षले चीन–अमेरिका सम्बन्धमा रहेका बाधा अड्काउ फुकाउने र सम्बन्धलाई बिग्रनबाट जोगाउने उपायबारे स्पष्ट, गहन, ठोस र रचनात्मक छलफल गरेका थिए। निर्देशक वाङले ताइवानको प्रश्नमा चीनको गम्भीर अडानबारे विस्तृत जानकारी दिनुभयो। दुवै पक्षले एसिया–प्रशान्त क्षेत्र, युक्रेन र पारस्परिक हितका अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि विचार आदानप्रदान गरेका थिए। दुवै पक्ष रणनीतिक सञ्चारको यस माध्यमको राम्रो प्रयोग जारी राख्न सहमत भएका छन्,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वार्तापछि भनेका थिए।

यो बैठकले द्विपक्षीय संवादको कडीलाई जोडेको अपेक्षा गरिको छ। त्यसअघि बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सले मे ८ मा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङसँग भेट गरेका थिए। यही भेटवार्तापछि भियनामा चिनियाँ उच्च कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच वार्ताको सम्भावनाको ढोका खोलेको हो। त्यस्तै मे ८ कै वार्ताबीच चीन र अमेरिकी व्यापार अधिकारीबीच संवाद भएको बताइएको छ। यी संवादको परिणाम चीन अमेरिकी वाणिज्य मन्त्रीहरुको वार्ताको ढोका खोलेको हो।

यता रोयटर्सका अनुसार अमेरिकी उच्च अधिकारीहरु विदेशमन्त्री ब्लिन्केन, वाणिज्यमन्त्री राइमोन्डो र ट्रेजरी सेक्रेटरी जेनेट येलेनले बेइजिङ भ्रमणको लागि इच्छा व्यक्त गरेका छन्। अर्कोतिर अमेरिकी राष्ट्रपति बाइडेनले पनि चिनियाँ समकक्षीसँग टेलिफोन वार्ताको इच्छा ब्यक्त गरे पनि यसबारेमा दुबै पक्षबाट कुनै सूचना नदिइएको उल्लेख छ।

चिनियाँ विदेश मन्त्रालयले दुई राष्ट्रपतिबीचको टेलिफोन संवादको विषयमा कुनै जानकारी नभएको बताएको थियो। 'मसँग तपाईँलाई यस बारेमा दिने केही छैन। म तपाईँलाई यति भन्न सक्छु कि चीन र अमेरिका संवादमा छन्। महत्त्वपूर्ण कुरा के हो भने अमेरिकाले एकातर्फ सञ्चारको मुद्दा उठाउने र अर्कोतिर चीनलाई दबाएर नियन्त्रण गरिरहन सक्छैन,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले भनेका थिए, 'हामी अमेरिकालाई चीनप्रति धारणा सही बनाउन र चीनको रातो रेखको सम्मान गर्न, चीनको सार्वभौमिकता, सुरक्षा र विकासका हितलाई कमजोर पार्ने काम बन्द गर्न र द्विपक्षीय सम्बन्धलाई सुदृढ र स्थिर विकासको ट्र्याकमा फर्काउन चीनसँग सोही दिशामा काम गर्न आग्रह गर्दछौँ।'

गत बिहीबार मात्र अमेरिका र ताइवानबीच एक व्यापार सम्झौतामा सहमति जुटेको छ। जसले चीनलाई थप रुष्ट बनाएको छ।  चिनियाँ विदेश मन्त्रालयले यस्ता अमेरिकी कदमको विरोध गरेको छ। 'चीनको ताइवान क्षेत्र र चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूबीच कुनै पनि प्रकारको आधिकारिक संवादको चीनले कडा विरोध गरेको छ,' विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्।

यता अमेरिकाभित्रै चीनसँग उच्चस्तरीय संवादलाई जोडेको भन्दै बाइडेन प्रशासन विरोधी संसदहरुले विरोध जनाएका छन्। संसद् भित्रबाट विरोध भए पनि आफ्नो आर्थिक संकट समाधानका लागि अमेरिका चीनसँग संवाद अगाडि बढाउन चाहन्छ।

शैन्य वार्तामा इच्छुक छैन चीन

यता अमेरिका चीनसँग शैन्य वार्ताका लागि पनि इच्छा देखाए पनि चीनले भने रुचि प्रकट नगरेको बताइएको छ।

पेन्टागनले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र उनका चिनियाँ समकक्षी लि साङ्फूसँग भेटवार्ताका लागि इच्छुक छन्। अमेरिकाले त्यसका लागि पहल पनि थालेको छ। अर्को महिना सिंगापुरमा हुने सांग्रिला डायलगको साइडलाइनमा वार्ता होस् भन्ने इच्छा अमेरिकी रक्षामन्त्रीले राखेको सम्बन्धित अधिकारीलाई उदृत गर्दै ब्लुमवर्गले लेखेको छ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल मार्टिन मिनरस्ले चीनको शैन्य नेतृत्व तथा रक्षा मन्त्रीसँग पेन्टागनले संवाद अगाडि बढाउन चाहेको बताएका छन्।

यदि दुई मन्त्रीबीच सांग्रिला डायलगको साइडलाइनमा वार्ता भए यो गत फेब्रुअरीपछि हुने दुई देशबीचको उच्चस्तरीय संवाद हुनेछ। गत वर्ष अस्टिनले सिंगापुरमै तत्कालीन चिनियाँ रक्षामन्त्री वेइ फङहसँग भेट गरेका थिए। तर, चिनियाँ रक्षामन्त्री यो भेटवार्ताका लागि सकरात्मक नभएको बताइएको छ। फेब्रुअरीमा बेलुन खसालिएपछि चीनले सबै रक्षा संवादलाई रोकेको घोषणा गरेको थियो। साथै अमेरिकी रक्षामन्त्रीले टेलिफोन संवाद चाहे पनि चीनले अस्वीकार गरेको थियो।

अर्कोतर्फ चिनियाँ रक्षामन्त्री लिलाई अमेरिकाले २०१८ देखि प्रतिवन्ध लगाएको छ। यसले पनि चीनलाई रक्षामन्त्री बीचको वार्ताका लागि पर धकेल्ने अपेक्षा गरिएको छ।

गत साता भियनामा भएको वार्ताका क्रममा पनि चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यिले अमेरिकी रक्षा सल्लाहकारलाई दुई देशबीचको आदान-प्रदानलाई निर्वाध सञ्चालनका लागि प्रतिवन्ध जस्ता गलत कदम रोक्न आग्रह गरेका थिए।

त्यस्तै चिनियाँ विदेश मन्त्रालयले पनि रक्षामन्त्रीबीच सम्भावित भेटवार्ताबारे कुनै जानकारी नभएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell