PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्वर्णको लक्ष्य बोकेको नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान, कप्तान शाही भन्छिन् : कडा टक्कर दिनेछौं



मुकुन्द घिमिरे

स्वर्णको लक्ष्य बोकेको नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान, कप्तान शाही भन्छिन् : कडा टक्कर दिनेछौं

काठमाडौं : एनएससी काभा महिला भलिबल आजबाट त्रिपुरेश्वरमा सुरु भएको छ। उज्बेकिस्तान र श्रीलंकाबिचको प्रतिस्पर्धासँगै यो प्रतियोगिता सुरु भएको हो।

आयोजक राष्ट्र नेपालले आजै किर्गिस्तानसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, किर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइसकेका छन्।

यो नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो प्रतियोगितामा पर्दछ। यो प्रतियोगितामा नेपाली भलिबल टोलीलाई यसअघि सेन्ट्रल जोन भलिबलमा ब्याक-टू-ब्याक च्याम्पियन बनेको विरासत जोगाउने चुनौति हुनेछ भने संघलाई भने व्यवस्थापन चुस्त पार्ने चुनौति।

नेपाली टोलीले ३ महिनाभन्दा लामो समय अभ्यास गरेकाले तयारी राम्रो भएको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन्।

'बाहिरबाट कोच आउनु भएको छ। उहाँसँग अभ्यास गर्दा धेरै राम्रो भएको छ। पहिलाको भन्दा अर्गनाइजेसन लगायत धेरै पक्षमा परिवर्तन पनि भएको छ,' कप्तान शाहीले भनिन्, 'टिममा अलि नयाँ फर्मेसन भएको छ। नयाँ पुरानो मिलेर नयाँ कम्बिनेसन बनेको छ। लामो समयको अभ्यासले हाम्रो प्रदर्शनमा धेरै फरक पार्छ।'

नेपालले प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेल भने खेलेको छैन। शाहीले भने टिमको लक्ष्य 'च्याम्पियन' नै बन्ने रहेको बताइन्। उनले मैत्रीपूर्ण खेलको माग गरेको भए पनि बजेटका कारण सफल नभएको बताइन्।

'सकेसम्म मैत्रीपूर्ण खेल खेल्न पाए हुन्थ्यो भनेर हामीले संघसँग कुरा राखेका थियौँ। सबै कुरा बजेटमै आएर रोकिने हो,' शाहीले भनिन्, 'गेम गर्नु नै हाम्रो लागि ठूलो कुरा भयो। त्यसैले हामीले संघलाई धेरै फोर्स पनि गरेनौँ।'

नेपालकै पूरुष टोलीसँग भने अभ्यास खेल खेलेको शाहीले बताइन्।

'हाम्रो लक्ष्य भनेको गोल्डमेडल नै हो। मलाई हामी टफ फाइट दिन सक्छौँ भन्ने लाग्छ,' उनले भनिन्।

नेपालले यसअघि दुई पटक सेन्ट्रल जोन भलिबल च्याम्पियन बन्दाको भन्दा हाल कठिन प्रतिस्पर्धीहरु छन्। काजकिस्तान, भारतजस्ता प्रतिस्पर्धीहरुसँग खेल्न नेपाललाई सहज भने हुनेछैन।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा भारतलाई कडा टक्कर दिएको शाही सम्झिन्छिन्। त्यतिबेला मैत्रीपूर्ण खेलहरु लगायत अन्तर्राष्ट्रिय 'एक्सपोजर' राम्रो हुँदा प्रदर्शन राम्रो भएको उनले सुनाइन्।

'त्यो बेलामा मैत्रीपूर्ण खेल धेरै खेल्यौं। बंगलादेशमा च्याम्पियन बनेर आएको पनि राम्रो कन्फिडेन्स पनि थियो,' शाहीले सम्झिइन्, 'त्यसअघि सम्ममा १५ नपुग्दै हार्ने हामीले टफ फाइट दिएका थियौं। अहिले पनि हामी राम्रो गर्न सक्छौं जस्तो लाग्छ।'

आज हुने किर्गिस्ताविरुद्धको खेल प्रतियोगिताका लागि महत्वपूर्ण रहेको शाही बताउँछिन्।

'फिजिकल्ली हामी अरुभन्दा अलि होचै भएकाले डिफेन्स र सर्भिसिङमा राम्ररी काम गरिरहेका छौं,' शाहीले भनिन्, 'इन्टरनेटमा खोज्दा सेन्ट्रल एसियाका कुनै पनि टोलीको म्याच भेटिँदैन। कुनैको एक डेढ वर्षअघिको म्याच भेटिन्छ कुनैको त्यही पनि भेटिँदैन।'

त्यो अवधिसम्म टिममा धेरै परिवर्तन भइसकेको हुने उनको बुझाइ छ। 'हाम्रो पनि त फेरिएको छ। उनीहरुको लेभलसम्म चाहिँ बुझिएला तर रणनीति नै बनाउन सकिने भने अवस्था छैन,' उनले भनिन्, 'अपोनेन्ट सबै टफ नै छ। काजकिस्तान एसियाली स्तरमा नै बलियो टोली हो। स्टेपवाइज एकपछि अर्को खेल हेरेर गर्ने।'

प्रतियोगितामा सहभागि टोली मध्ये काजकिस्तान एकमात्र विश्ववरीयतामा अटाएको टोली हो। एफआईभीबी वरियता अनुसार काजकिस्तान ४५ औँ स्थानमा रहेको टोली हो।

घरेलु मैदानमा खेल हुँदा नेपाललाई फाइदा त छ। कप्तान शाही भने यसलाई सकारात्मक माहोलमा लैजान सकेमात्र प्रदर्शनमा सहयोग पुर्‍याउने बताउँछिन्।

'होम क्राउडले असर गर्छ। कसरी सुरुवात गर्न सकिन्छ, त्यसमा पनि निर्भर हुन्छ। राम्रो सुरुवात गर्न सके सबैकुरा सकारात्मक भएर जान्छ,' उनी भन्छिन्, 'कसैकसैले चाही अलि बिग्रने बित्तिकै गाली गर्ने किसिमको पनि हुन्छ। यो देखिरहेको कुरा हो। त्यसैले हामीचाहीँ सुरुवातबाटै प्रदर्शन राम्रो गरेर समर्थकको साथ पाउन प्रयासमा हुनेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell