PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका तीन मन्त्री



रमेश पराजुली

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका तीन मन्त्री

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता छन्।

कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जसपाका अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१) बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए। नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण सोमबार दिउँसो ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ।

मुख्यमन्त्री चौधरीले यसअघि बिनाविभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिएका छन्। लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री चौधरीले यसअघि नै माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए। १० सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै छन्। बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए।

लुम्बिनीमा चौधरी नेतृत्वको गठबन्धन सरकारलाई ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ। कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्रसमेत गरी ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका छन्। मुख्यमन्त्री चौधरी वैशाख १४ गते नियुक्त भएका थिए। उनले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। मुख्यमन्त्री चौधरीले गत बैशाख १९ मा विश्वासको मत लिएका थिए।

माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकारमा १३ मन्त्रालय र ४ राज्यमन्त्रीसहितको सरकार थियो। एमालेका लिला गिरी नेतृत्वको सरकारले मन्त्रालय घटाएर १० मा झारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell