काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतवारको बैठकमा पुराण नै सुनाए। सत्ता गठबन्धनमाथि प्रहार र आफ्नो 'डिफेन्स' गरेका ओलीले एक घण्टा ५५ मिनेट बोले। ओली बोल्नुपर्ने विषय थियो - सरकारको नीति तथा कार्यक्रमम।
ओली पूर्व प्रधान मन्त्री पनि हुन्, अनुभवकै हिसाबले पनि उनले सरकारको नीति कार्यक्रममा माथि महत्वपूर्ण सुझाव सल्लाह दिन सक्छन्। आलोचनात्मक भावमा उनले सरकारलाई खबरदारी पनि गर्न सक्छन्। तर, छलफलका लागि रोष्ट्रममा पुगेका ओलीले आफुलाई बाघसँगै तुलना गर्न भ्याए।
'बाघ भोकै मर्छ तर घास खान्न' ओलीले आफू नझुक्ने दाबी नै पेस गरे आइतवारको बैठकमा।
आइतवारको संसद बैठकमा सत्तारुढ दलका नेतामाथि ओली खनिए पनि बेञ्चमा भने मुसुमुसु हासिरहेका थिए।
उनको भाषणको प्रशंसा भन्दा आलोचना भइरहेको छ। नक्कली शरणार्थी प्रकणबारे रहस्य खोल्ने एमालेको केन्द्रीय कमिटीको वैशाख २८ गतेकै बैठकमा वाचा गरेको थिए ओलीले। तर, कुनै रहस्य भने खोलेनन्। बरु निर्दोषलाई फसान खोजेको आरोपलाई संसदमा पनि दोहोर्याए ओलीले। प्रकरण सुरु हुनासाथै ओलीले यस्तै खालको अभिव्यक्ति नदिएका होइनन्। जसलाई निरन्तता ओलीले अहिले पनि दिइरहेका छन्। उनले नीति कार्यक्रम नीति शुन्य भन्न मात्रै होइन फेल गर्नुपर्ने मत पेश गरे। कार्यक्रम नै फिर्ता लिने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गरेका थिए ओलीले।
'ओली सर्वज्ञानी'
सत्ता गठबन्धनमाथि नै जाइलागेका ओलीलाई उनकै पूर्व सहयात्री तथा एमालेको डेढ दश नेतृत्व गरेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले भने कडा शब्दमा प्रतिवाद गरेका छन्। नामै नलिएर काउण्टरमा उत्रिएका नेपालले ओलीसँग सर्वज्ञानी प्रवृति नहटेको बताए।
पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले सत्तामा पुगे पनि आफ्नै कारण सत्ताबाट हात धुनु परेको टिप्पणी नेपालको छ।
'आफ्नो पीडा व्यथा पोखेर मात्र हुँदैन। सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन अरुलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो? त्यसका लागि अरुलाई सत्तोसराप गरेर पनि हुँदैन। त्यसैले आफूभित्र के कमजोरी भए भनेर त्यसको हामी सबैले समीक्षा गरौं। कमी कमजोरी भएका छन् भने पहिचान गरेर सुधार गरौं,' ओलीलाई नेपालले सुझाए।
ठूल ठूला उपदेश छाट्ने !
ओलीले आफूलाई सर्वज्ञानी ठान्ने प्रवृतिकै कारण शक्ति गुमाइरहेको नेपालको तर्क गरे। अरुको अवमूल्यन गर्ने र उपदेश छाट्नाले पनि ओलीमा समस्या देखिएको नेपालले बताए। उनले ओलीको आलोचना गर्दै मुख्य तीन समस्या औल्याए।
'हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादीको रोग हो। दोस्रो भनेको सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। तेस्रो अरुलाई अवमुल्यन गर्ने प्रवृत्ति हो। अरुको ज्ञान र अरुको साथ लिने भन्दा पनि आफ्नो पाराले चल्ने प्रवृत्ति हो। भ्रष्टाचारबाट चर्लुम्म डुब्ने प्रवृत्तिबाट मुक्त भइएन भने कुरा एउटा काम अर्को। कुरामा ठूला ठूला उपदेश छाट्ने प्रवृति छ। तर व्यवहारमा लागु गर्ने प्रवृति कम छ,' नेपालले भने।
नेपालको च्यालेन्ज
ओलीलाई संसदमा आफ्नो काम देखाएर प्रतिस्पर्धामा उत्रन नेपालको च्यालेन्ज छ। आफ्नो कार्यकालमा भएका नराम्रा कामको आलोचना सु्न्न ओलीलाई नेपालको आग्रह छ।
'संसदमा प्रधानमन्त्रीहरुको बिचमा आआफ्नो कार्यकालमा के गरे सब ल्याएर मूल्याङ्कन यही संसदले गरिदिए हुन्छ। म त तयार छु। मैले त ल्याएको छु। मोटै ल्याउन खोजेको थिएँ। अवश्य पनि मेरो कार्यकालका चर्चा भएन। परे होला त्यस्तो। नराम्रो कुराको आलोचनाका लागि पनि तयार हुनुस्। हाम्रो कार्यकालमा कतिपय हावादारी योजना आए। यो मितिमा टिकट काट्नुस् ठ्याक्क बिजुलीको रेल चढ्नुस्। घर घरमा ग्याँस्। खै ग्यास?,' नेपालले सोधे।
कस्तो छ ओली - नेपाल सम्बन्ध?
तत्कलीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै बेलादेखि ओली- नेपाल सम्बन्धमा दरार आयो। पार्टी विभाजन मात्रै भएन ओली- नेपाल सम्बन्धको चिसोपनकै कारण एक अर्कालाई पराजित गर्ने मानसिकताबाट दुवै नेता अघि बढेपछि ओलीले लगातार शक्ति गुमाए। नेपालले पनि आफ्नो पार्टीलाई प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्न सकेनन्। चुनावी परिणामपछि दुवै नेताको सम्बन्ध सुधार गर्न दुवै पार्टीका केहि नेताले पहल गरे पनि त्यति सुधार भने हुन सकेन।
एमाले विभाजनअघि ओली- नेपाल एक्ला एक्लै वार्तामा पटक पटक बसे। तर, कुनै सहमति नभएपछि एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो।
संवादहीनताबाट ओली - नेपाल अघि बढे पनि सहकार्यको मनस्थितिमा भने पुगेनन्। यद्यपि, कांग्रेसलाई रोक्ने ओलीले रणनीति रुपमा नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव भने गरेका थिए। तर, नेपाल विश्वस्त हुन नसकेपछि उनी अघि बढेनन्। प्रचण्डले ओलीसँग सहकार्य गरेर सरकार चलाउदा नेपालको पार्टी सरकारमै गएन। बरु एमालेलाई सरकारबाट हटाउन नेपाल कांग्रेससँग मिलेर रणनीति बनाउन सक्रिय रहे। परिणामत : फागुन १२ मा एमाले - माओवादी गठबन्धन टुट्यो र सरकारमा फर्कियो नेपालको पार्टी एकीकृत समाजवादी। एमालेलाई भने फेरि पुरानै ठाउँमा पुर्याएका छन् नेपालले।
प्रचण्डलाई सुझाव
नेपालले नीति तथा कार्यक्रमको समर्थन गर्दै व्यवहारमा उतार्न पनि प्रचण्डलाई सुझाव दिएका छन्। उनले ठगहरुको पहिचान गरेर दण्डित गर्न माग गरे।
'इमान्दारिताका साथ अघि बढ्नुस भ्रष्टाचारको जालोलाई तोड्नुस। काम ठगहरु सत्ताको दुरुपयोग गर्ने को को हुन् दण्डित गर्नुस्। जनता केन्द्रित भए मात्रै सफल हुन सकिन्छ,' नेपालले भने। सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गरेको नेपालको मत छ।