काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। ओलीले प्रतिनिधि सभाको आइतबारको नीति तथा कार्यक्रमको छलफलमा आफूलाई बाघसँग तुलना गरेका थिए। ओलीले 'बाघ भोकै मर्ने तर घाँस कहिले नखाने' बताएका थिए।
उक्त अभिव्यक्तिप्रति खतिवडाले सोमबारको प्रतिनिधि सभाको बैठकमा बाघले घाँस खाने अवस्था आउन नदिने भन्दै व्यङ्ग्य गरे। 'हामी घाँस खान पनि दिदैँनौ। घाँस खाने अवस्था बाघको पनि नआओस्, मान्छेको पनि नआओस,' उनले भने। ओलीले नयाँ नीति तथा कार्यक्रम पेश गर्न खोजेको उनको आरोप छ। खतिवडाले ओलीको पालामा कोरा कल्पना सहितको नीति तथा कार्यक्रम आएको भए पनि अहिले वास्तविक स्थितिको विश्लेषण गरेर नीति तथा कार्यक्रम आएको बताए।
खतिवडाले नीति तथा कार्यक्रम फेरि लेखिने तर त्यो अर्को वर्ष लेखिने बताए। ओलीले सरकारले ल्याएको नीति कथा कार्यक्रम फिर्ता गरेर नयाँ लेखिनुपर्ने बताएका थिए।