PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

नक्कली शरणार्थी प्रकरण : को को फरार भए, अनि को को समातिए?



पहिलोपोस्ट

नक्कली शरणार्थी प्रकरण : को को फरार भए, अनि को को समातिए?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको छ। ५५ दिन लामो अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य प्रतिवादी बनाएर फाइल बुझाइएको हो। त्यस्तै, अन्य १६ जनालाई फरार प्रतिवादी बनाइएको छ। जसमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र हिरासतमा रहेका इन्द्रजीत राईका छोरो  निरज राई समेत रहेका छन्।

प्रहरीले केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धिरेन राई, दिपा हुमागाईं, महोन राई, सुनिल बुढाथोकी, विनिता लिम्बु, निरञ्जन खरेल, राजेश अर्याल लगायतलाई फरार सूचीमा राखेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ। उक्त प्रकरणमा पहिलो चरणमा ८१ जनाको र१३ करोड ठगी भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो।

को को कहिले समातिए?

२०७९ साल चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो। सार्वजनिक हुनेमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ रहेका थिए।

तीन दिनपछि अर्का एक अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनी थिए मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई। उनलाई चैत १५ गते पक्राउ गरिएको थियो। त्यही समूहसँग मिलेर राईले ५० जना भन्दा बढीसँग ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि समातिएका थिए।

दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते समातिएका थिए।उनीहरूले झापा, मोरङ, सुनसरी, दाङ, बाग्लुङ लगायतका मानिसलाई अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म लिएको खुलेको थियो। त्यसपछि फाइल जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो।

२० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो। त्यसपछि त यो प्रकरण एकाएक सतहमा आयो।

वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसपछि थप अभियुक्त खुल्दै गए। त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उप राष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग आयो। त्यही दिन एमाले सचिव (हाल निलम्बित) एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप विरुद्ध पक्राउ पूर्जी जारी भयो।

वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिएका थिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए। उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

वैशाख २७ गते बिहानै काठमाडौंको चुच्चेपाटीबाट पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण समातिए। यसले झन् राजनितिक क्षेत्रमा उथलपुथल नै ल्यायो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए।

११ दिन फरार रहेका टोपबहादु रायमाझी वैशाख ३१ गते काठमाडौंबाट समातिए। उनीहरु अहिले हिरासतमा छन्। कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले सोमबार प्रहरीमा आत्मसमर्पक्ष गरे। जेठ ४ गते भुटानी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई समातेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell