काठमाडौं : एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमवारबाट सुरु भएको प्रतियोगितामा किर्गिस्तानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको हो।
पहिलो सेटमा नेपालले सुरुबाटै लिड लिएको थियो। त्यसपछि अगाडि नै रहेर नेपालले २५-११ ले पहिलो सेट जित्यो। डिफेन्समा राम्रो प्रदर्शन गरेको नेपालको सर्भिसमा भने सुरुबाटै कमजोर रह्यो।
दोस्रो सेटमा नेपालले ९-७ को अन्तरबाट दूरी बढाएर २५-१९ ले जित निकाल्यो।
तेस्रो सेटमा नेपालले लिड गरे पनि बीचमा कीर्गिस्तान ५-६ अन्तरले अघि रहेको थियो। यो सेटमा मिस कम्युनिकेसनका कारण पनि नेपालले केही अंक गुमायो। तर, नेपालले राम्रो पुनरागमन गर्दै २५-११ अन्तरले जित निकाल्न सफल भयो।
नेपालको जितमा उषा भण्डारी तथा अरुणा शाहीको प्रभावशाली प्रदर्शन रह्यो।
नेपालले आफ्नो दोस्रो खेलमा भोली बंगलादेशसँग भिड्नेछ।
प्रचण्डले गरे उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरे। प्रचण्डले आँफैले अघिल्ला कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको भन्दै यो प्रतियोगिताको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए। भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले उद्घाटन समारोहमै कभर्ड हल नहुँदा प्रतियोगिता आयोजनामा समस्या रहेको बताए।
महँगो शुल्क भएको गुनासो
घरेलु प्रतियोगिताहरुमा समेत भरि हुने कभर्डहल नेपाली राष्ट्रिय टोलीको खेलमा पनि भरिएन। दर्शकहरुले शुल्क महँगो भएको भन्दै असन्तुष्टि जनाए।
गोठाटारका कविचन न्यौपानेले शुल्क महँगो भएको बताए।
'पहिलो पटक भलिबल हेर्न आएको। अत्यन्तै महँगो लाग्यो,' न्यौपानेले भने।
त्यस्तै राष्ट्रिय टोलीका खेलाडीले पनि खेलाडीलाई पास नदिएको र संघले पैसामुखी व्यवाहार गरेको गुनासो गरेका छन्। ओपन स्पाइकर हरि थापाले फेसबुकमा लेखेका छन्: राजनीति गरेर पदमा पुगेको व्यक्तिलाई ससम्मान जान दिने तर हिजो पसिना र जीवन सकेर भलिबलमा योगदान दिने खेलाडीलाई पैसाका लागि इज्जत दिन नसक्ने संघ कुन होला?