PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ



रमेश पराजुली

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले नेपाली कांग्रेसका राजु खनाल, जसपाका भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जसपाका अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री चौधरीले यसअघि बिनाविभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिएका छन्। लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री चौधरीले यसअघिनै माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए। १० सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अझै तीन जना मन्त्रीको टुंगो लागेको छैन।

लुम्बिनीमा चौधरी नेतृत्वको गठबन्धन सरकारलाई ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ। कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ।

मुख्यमन्त्री चौधरी वैशाख १४ गते नियुक्त भएका थिए। उनले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। मुख्यमन्त्री चौधरीले गत बैशाख १९ मा विश्वासको मत लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell