PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

व्यवसायी कँडेल मृत्यु प्रकरण: रावल हिरासतमा रुंगटा अझै फरार, सुसाइड नोट नै मुख्य प्रमाण



पहिलोपोस्ट

व्यवसायी कँडेल मृत्यु प्रकरण: रावल हिरासतमा रुंगटा अझै फरार, सुसाइड नोट नै मुख्य प्रमाण

काठमाडौंः चितवनका पोलट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको तीन साता हुन लागेको छ। प्रहरीले घटनामा प्रमाण संकलन गरिरहेको छ। घटना आत्महत्या दुरुत्साहनतिर आकर्षित भएको छ। शव भेटिएदेखि नै प्रहरीले घटना आत्महत्या दुरुत्साहन भएको भन्दै अनुसन्धान थालेको थियो।

वैशाख १९ गते भरतपुर महानगरपालिका ३ बेल्चोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा कँडेलको शव फेला परेको थिए। घटनास्थलबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको छ। त्यही नोटको आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। सुसाइड नोटका अनुसार आफूलाई मानसिक तनाव दिएको कारण आत्महत्या गर्न विवश भएको आसय खुल्छ।

जसमा उनका साझेदार प्रदीप रुंगटाको मुख्य भूमिका देखिएको छ। उनी नेपाल दाना उद्योग संघका उपाध्यक्ष हुन्। त्यस्तै अर्का व्यक्ति हुन् कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल। रावललाई भने वैशाख २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको बारा जितपुर सिमराबाट पक्राउ गरिसकेको छ। तर प्रदीप रावल भने फरार छन्।

'हामीले उसलाई विभिन्न तरिका प्रयोग गरेर खोजी गरिरहेका छौँ। ढिलो चाँडो पक्राउ गर्छौँ,' चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले भने।

मृतकका परिवारले पनि दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन्। उजुरी परेपछि रंगटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुँदासम्मको लागि संघले निलम्बन गरेको छ। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स १ अर्ब १५ करोडमा बेचेका थिए। आन्तरिक हिसाब मिलानका क्रममा रुंगटा र रावलले मानसिक दबाब दिएको खुलेको छ। कम्पनीमा रुंगटाको ८५ प्रतिशत लगानी थियो।

पक्राउ परेका रावल पहिले कँडेलको फर्ममा काम गर्दै आएका थिए। तर जब रुंगटाले ८५ प्रतिशत शेयर किनेपछि रुंगटातर्फ झुकाव राखेका थिए। त्यसैले दुवै जना मिलेर आर्थिक पाटोमा मानसिक दबाब दिएको खुलेको छ।

'सुरुमा कँडेलले नै जागिर दिएपछि ८५ प्रतिशत लगानी भएको मान्छेसँग झुकाव बढाएको देखिन्छ। त्यसपछि उनीहरूको सम्बन्ध राम्रो बन्दै गएर दबाब दिएका छन्,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

प्रहरीले घटनामा आत्महत्या दुरुत्साहन चलाउने मुख्य आधार सुसाइड नोट नै बनाएको छ। त्योसँगै कारोबारमा देखिएका बैङ्किङ कारोबारहरूलाई पनि अनुसन्धान गरिरहेको छ।

'अहिलेसम्म त सुसाइड नोट र पीडित परिवारको उजुरी नै मुख्य हुन्छ। बाँकी अनुसन्धानमा खुल्दै जान्छ,' एसपी कार्कीले भने।

घटनामा मुख्य आरोपी रुंगटा भने फरार रहेका छन्। उनी देशबाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ। त्यस्तै फरार रुंगटालाई खोजी गर्न सीआइबीको टोलीले पनि सहयोग गरिरहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पनि खोजी गर्न पत्राचार गरिसकेको छ। वाग्मती प्रहरी प्रमुख किरण रानाले पनि तीन पटक काठमाडौँ आएर नै प्रहरी प्रमुखलाई भेटेर अनुसन्धानको जानकारी दिएकी छिन्।

'यो केसमा डिआइजीदेखि आइजी सावले पनि धेरै चासो देखाउनुभएको छ,' एक प्रहरी अधिकृतले भने।

प्रहरीले रावल समातिएको २५ दिनभित्र अनुसन्धान फाइल सरकारी वकिल हुँदै अदालतमा बुझाउनुपर्छ। यो समयमा रुंगटा नसमातिएको खण्डमा फरार प्रतिवादी बनाएर अदालतमा लैजाने छ। त्यसपछि अदालतमा मुद्दा दर्ता भएपछि समातिएकाको हकमा साधारण तारेख, धरौटी वा पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गर्ने छ।

मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो। ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ।

आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell