PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

शीतनिद्राबाट निस्कँदा किन खन्चुवा हुन्छ कछुवा, यिनीहरुलाई प्राकृतिक बासस्थानमा किन छाड्ने?

शीतनिद्राबाट निस्कँदा किन खन्चुवा हुन्छ कछुवा, यिनीहरुलाई प्राकृतिक बासस्थानमा किन छाड्ने?

पहिलोपोस्ट /पहिलोपोस्ट


  • वेदबहादुर खड्का-

कछुवाले शत्रु आएको थाहा पाउनासाथ हातखुट्टा खुम्चाएर शरीरभित्र लुकाएपछि सिंगो हाडयुक्त शरीर देखाइदिन्छ। जंगलभित्र खाद्य-आहार सञ्जालमा हाड मनपराउने कमै हुन्छन्। हाड खपटामात्र देखेपछि उसलाई खाने/सिकार गर्नेले त्यत्तिकै छोडिदिन्छ।

यो कछुवाको प्राकृतिक चलाखीपन हो। जसले गर्दा ऊ धेरै बाँच्न सक्छ। तर मान्छेका लागि कछुवाको कुनै चलाखीले काम गर्दैन। त्यसै प्राकृतिक आहार प्रणालीमा कछुवाको लागि मानिस सबैभन्दा खतरनाक शत्रु हो।

मान्छे यस्तो प्राणी हो, कछुवाले आफू बाँच्नका लागि अपनाउने कुनै विधिले छुन सक्दैन। कछुवा सबैभन्दा लामो काल बाँच्ने जीवका रुपमा पनि चिनिन्छ। चिडिया खानामा कछुवा १५२ वर्षसम्म बाँचेको आधिकारिक तथ्याङ्क भेटिन्छ।

 

कछुवा संरक्षण प्रजननको सुरुवात

नेपालमा १८ प्रजाति पाइनेमध्ये चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक बासस्थानमा ९ प्रजातिका कछुवाहरु पाइन्छन्। संसारमा मानव प्रजातिमात्रै बढ्दो संख्यामा रहेको छ भने मानवका लागि स्वच्छ वातावरण निर्माण गर्ने अतिआवश्यक प्रजातिहरु भने घट्दो छ।

कोरलिएका सुन कछुवाका बच्चाहरु।


बढ्दो मानवीय चापले कछुवाहरु पनि यस संसारबाट लोप हुने अवस्थामा पुगेकोले यिनीहरुलाई व्यवस्थित प्रजनन गरी तिनीहरु स्वतस्फूर्त हुर्कन सक्ने प्राकृतिक बासस्थानमा पुर्नस्थापना गर्ने/छोड्ने प्रक्रिया आज विश्वभर नै चलेको छ। नेपालमा पनि गाउँघरबाट टुहुरा कछुवालाई उद्धार गरी ल्याई मानवीय रेखदेखमा हुर्काउँदै संरक्षण पालनपोषण गरी संरक्षणको प्रक्रिया चितवन राष्ट्रिय निकुञ्ज कसरास्थित घडियाल प्रजनन केन्द्रभित्र सुरुवात गरिएको छ।

 

प्रजनन र हुर्काउने विधि

कछुवाले बालुवा, माटोमुनि अण्डा पार्छन्। अच्चमलाग्दो कुरा के छ भने कुखुराले जस्तो ओथारो भने यसले बस्दैन। कोरलिने समय भएपछि बच्चा आफैँ कोरलिन्छन्। समय भएपछि बच्चा आफैँ माटोमुनि रहेको अण्डाबाट बल गरेर निस्कन्छन्।

अरु प्राणीले झैं प्रजननपछि माउले आफ्ना बच्चाहरुको हेरविचार गर्दैनन्। रमाउने सन्तानको मायाममता पनि दिँदैनन्, केवल अण्डा पारेपछि तिनीहरुको कर्तव्य सकियो। बच्चाहरुको आहार विहारको र हेरचाह गर्ने व्यवस्था कछुवा हेरालुले गर्ने व्यवस्था गरिएको छ।

मान्छेका बच्चाजस्तै जमिनमा बस्ने कछुवाहरुका बच्चालाई पनि गुलियो मनपर्छ, त्यसैले पाकेको फर्सीमा गुलियोपन धेरै हुने भएकोले फर्सीलाई मसिनो-मसिनो टुक्रा पारेर खान दिइन्छ र त्यस्तै गुलियोपन भएको फलफूललगायत गुलियो रस भएका फूलहरु पनि खान दिई हुर्काइन्छ।

बँदार कछुवाका अण्डा।


 

कछुवाको जीवनशैली

स्तनधारी जनावरको जस्तो तातो रगत कछुवाहरुमा हुँदैन न त फूल पार्ने कुखुरा र चराहरुको जस्तो नै। कछुवाहरुको शरीरमा चिसो रगत हुन्छ, त्यसैले यिनीहरुको शरीरको तापक्रम बाहिरी तापक्रममा भर पर्दछ, बाहिरी वातावरण चिसो भयो भने यिनीहरुको शरीर चिसो हुने, तातो हुँदा शरीर पनि तातो हुने।

यस्तै, बाहिरी तापक्रमको आधारमा यिनीहरुले आफ्नो आहार खाने, कम खाने वा नखाने निर्धारण गर्दछ। गर्मी बढ्दै जाँदा यिनीहरुको आहार पनि बढ्दै जान्छ, जाडो बढ्दै जाँदा आहार घट्दै जान्छ।

त्यसैले हिउँद महिनाभर कछुवाहरु माटो, बालुवा वा त्यस्तै झाडी मुनि शित निन्द्रामा जाने हुँदा देख्न गाह्रो हुन्छ। त्यसबेला केही पनि खाँदैनन् तर लामो समय पछिको शित निन्द्राबाट बाहिर निस्केपछि कछुवाहरु पहिलाको भन्दा दुब्लो देखिन्छ र यस समयमा कछुवा खन्चुवा पाराको हुन्छ।

कछुवालाई सिजन अनुसारको जंगली फलफूल, घाँसपातदेखि किसानले फलाएका तरकारी एवं फलफूल र सुख्खा मौसममा भिजाएको चनासमेत खुवाइने गरिएको छ। तिनीहरुलाई केन्द्रभित्रै प्राकृतिक बासस्थान सिर्जना गरी प्राकृतिक रुपमै प्रजनन गराई ५/६ वर्ष पालेर हुर्काइबढाई प्राकृतिक बासस्थानमा बाँच्न सक्ने भएपछि निकुञ्जको सुरक्षित प्राकृति बासस्थानमा छोड्ने कार्य सुरुवात गरिएको छ।

बँदार कछुवाका बच्चा।


 

कछुवा प्राकृतिक बासस्थानमा छोड्ने प्रक्रिया
 
पहेँली ठोटरी कछुवाको प्राकृतिक बासस्थानलाई मध्यनजर गरी खडाईको घेराबारमा उपस्थित स्थानीय विद्यार्थीबाट विभिन्न दिवस समारोह पारेर छोड्ने गरिन्छ। घेराबार बनाएर छोड्नुको मुख्य कारण सानो खडाईको घेरावेरमा मानिसको संसर्गमा हुर्काइएको कछुवालाई एकै चोटी ठूलो र फराकिलो साल वनमा छोड्दा नआतिओस भनेर उसलाई अनुकुल हुनको लागि जङ्गलभित्र खडाईको घेरबार बनाएर छाडिएको थियो।

त्यसरी घेरबारमा कछुवा छोडी सकेपछि केही हप्तासम्म त्यहीं बस्छ र पछि उ आफैँले घेराबार भत्काएर फराकिलो प्राकृतिक बासस्थानतर्फ आफैं लाग्छ। पहेंलीठोटरी कछुवाहरु सामान्यतय शाकाहारी प्रकृतिका हुन्छन्। प्राकृतिक वासस्थानमा छोड्नु अगाडि कछुवाको नापजाँच, तौल र फोटो खिच्ने गरिन्छ।

चितवन निकुञ्ज भएर बग्ने नदीहरुमा पनि जल कछुवाहरु पाइन्छन्। तिनीहरुले नदीका बगरमा अण्डा पार्छन्। वर्षामा बाढीले बगाउन सक्ने खतरा स्थानका अण्डागुँडहरुलाई संकलन गरेर ल्याई प्राकृतिक वातावण सिर्जना गरेर बालुवाको ढिस्कोमा कछुवा प्रजनन गराउने गरिन्थ्यो।

बँदार कछुवाका बच्चाहरुलाई कोरलिने बित्तिक्कै पहिला नदीका बगरबाट अण्डा संकलन गरिएको तततत् स्थानमा लगेर नदी किनारको पानी बगिरहेको स्थानमा छोडिन्छ। छोड्ने बित्तिक्कै पानीभित्रको बालुवा/हिलोमा गडिएर बस्छ। तत्काल छोड्न पर्ने अवश्यकता किन पर्‍यो भने यो बच्चाहरु हुर्काउन अति नै चुलबुल, छुच्चो स्वभावको भएको हुन्छ।

कोरलिएका सुन कछुवाका बच्चाहरु।


 

कामको शिलशिलमा समात्दा खुट्टा र हातका नङग्राले नङ्ग्र्याउने गर्दछ। यसलाई थप आहार व्यवस्थापन गर्न मिहिनेती भावले गर्नुपर्ने हुन्छ। तर सरकारको संरचनमा सानो काम पनि ठूलो बनिदिन्छ र सम्भव काम पनि असम्भव जस्तै हुन जान्छ।

प्राकृतिक बासस्थानमा कछुवालाई छोड्ने पून्य/आर्कषक कार्यक्रम अचेल हराउँदै गएको आभास पाइन्छ। कोशीबाट अर्ना ल्याएर राम्रै प्रजनन भएको थियो र वृद्धि विकासले संरक्षणमा एउटा रौनक थपेको थियो। हाम्रै लापरवाहीले गर्दा अर्ना खोरबाटै रित्तिएर गएजस्तै कछुवाको पनि सोही हालत नहोला भन्न सकिने अवस्था छैन।

त्यसैले समयमै मनन गरौँ मानवीय रेखदेखमा कछुवा प्रजनन गराई विगतमा गरेजस्तै कछुवालाई प्राकृतिक बासस्थानमा छोड्ने कार्यलाई निरन्तरता दिऔं र आफ्नो पहिचान बचाऔं। सानाभन्दा साना जीव स्वच्छ पर्यावरणीय प्राकृतिक जगका आधार स्तम्भ हुन्, यिनलाई संरक्षणमा होस् गुमायौँ भने सन्ततिले हामीलाई सराप्नुबाहेक अरु कुनै विकल्प छैन।

(सन्दर्भ : अन्तर्राष्ट्रिय कछुवा दिवस)

-चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत खड्का घडियाल गोही अध्ययन र संरक्षणमा चासो राख्छन्।

"डु नट डिस्टर्ब"
कछुवालाई जङ्गलको बिचमा निर्माण गरिएको इन्क्लोजरमा छोडिँदै
कछुवा छोड्न निर्माण गरिएको इन्क्लोजर
चितवन राष्ट्रिय निकुञ्ज कसरास्थित घडियाल प्रजनन केन्द्रभित्रको कछुवा प्रजनन केन्द्र


ट्रेन्डिङ पोस्ट

Ncell