PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सगरमाथाको चुचुरोमा पुगेका जेसन, जसलाई चिकित्सकले भनेका थिए : अब कहिल्यै हिँड्न सक्दैनौ



हेम रोकाहा

सगरमाथाको चुचुरोमा पुगेका जेसन, जसलाई चिकित्सकले भनेका थिए : अब कहिल्यै हिँड्न सक्दैनौ
Photo: Spinal Cord Injuries Australia Facebook page

जेसन बर्नार्ड केन्निसन सन् २००६ मा कार दुर्घटनामा परे। अस्पतालको बेडमा आँखा खुल्दा चिकित्सकले उनलाई ‘अब कहिल्यै हिँड्न सक्दैनौ’ भनेका थिए। कार दुर्घटनामा उनले मृत्युलाई त जिते तर उनी ‘स्पाइनल कर्ड इन्जुरी’ र डिप्रेशनको शिकार हुनपुगे।

करिब ३ वर्षअघिसम्म पनि उनले जीवन जीउन संघर्ष गरिरहेका थिए। ३ वर्षअघि स्पाइनल अप्रेशन गरेपछि उनी पुनःस्थापना केन्द्र बस्नुपर्‍यो। त्यतिबेला जेसनलाई एक नजिकका व्यक्तिले जीवनमा अझै पनि उनले केही गरेर देखाउन सक्ने बताए। त्यसबाट उनलाई नयाँ कोणबाट जीवनलाई हेर्ने प्रेरणा मिल्यो।

‘म अझै पनि मैले चाहेको सबै गर्न सक्षम छु भन्ने कुरा मेरो नजिकको कोहीले मलाई विश्वास दिलायो,’ जस्ट गिभिङ नामक ‘फन्ड रेजिङ’ साइटको पेजमा जेसनले लेखेका छन्, ‘यसले मलाई आफ्नो जीवनलाई फरक प्रकाशमा हेर्न र मैले पार गरेका अवरोधहरूको प्रशंसा गर्न प्रेरणा दियो।’

कार दुर्घटनामा परेको १७ वर्षपछि उनी दर्दनाक चोटहरू र डिप्रेशनका कालो दिनहरूलाई पछि छोडेर विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निस्किए।

‘अब कहिल्यै हिँड्न सक्दैनौँ’ भनिएका उनका लागि यो निकै महत्वाकांक्षी लक्ष्य थियो।

‘म मेरो जीवनको धेरैजसो समय सदुपयोग गर्न चाहन्छु र म जस्तै मेरुदण्डको चोटमार्फत् आफ्नो जीवन क्षणभरमै परिवर्तन भएका अन्य व्यक्तिहरूलाई सहयोग गर्न चाहन्छु। उनीहरूलाई बिर्सनु हुँदैन, बरु सहयोग गर्नुपर्छ,’ उनी यस्तै सोच्थे।

उनको परिवार उनलाई एक साहसी युवकका रुपमा सम्झिन्छन्। मेरुदण्डको चोट खेपिरहेका लागि कोष संकलन गर्न पनि उनी सगरमाथाको आरोहण गर्ने महत्वाकांक्षी सपना पूरा गर्न निस्किएका थिए।

सगरमाथाको आरोहणको लागि निस्किनुअघि ४० वर्षीय जेसनले सेभेन न्यूजलाई भनेका थिए, ‘मैले सधैँ आफैलाई मनबाट नै यी चीजहरूलाई जित्न चुनौती दिँदै आएको थिएँ। सगरमाथा मेरा लागि ती चुनौतीहरू पार गर्ने र जित हाँसिल गर्ने प्रतीक बनेको छ।’

सगरमाथा आरोहणको तयारी गर्न उनी न्युजिल्यान्ड समेत पुगेका थिए। जहाँ उनले ‘माउन्टेनियरिङ कोर्स’ गरे भने ‘एब्सिलिङ’ र ‘रक क्लाइम्बिङ’ समेत सिक्न भ्याए।

साहसी अस्ट्रेलियन जेसनको महत्वाकांक्षी सपना २०२३ को मे महिनामा पूरा भयो। एसियन ट्रेकिङको एक्सपेडिसनअन्तर्गत उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए।

‘चुचुरोमा पुग्ने उसको लक्ष्य पूरा भयो... उ संसारको सबैभन्दा अग्गो स्थानमा पाइला राख्न सफल भयो,’ जेसनको परिवारले भनेको छ।

जीवनको सबैभन्दा ठूलो लक्ष्य हासिल गरेर फर्किँदै गर्दा साउथ समिटमा उनको स्वास्थ्यमा खराबी देखियो। उनीसँग गएका दुई जना सहयोगी शेर्पाहरुले उनलाई ८ हजार ४०० मिटरमा रहेको ‘बाल्कोनी’ क्षेत्रसम्म ओर्लिन सहयोग गरे। उनी त्यहाँबाट तल झर्न नमानेपछि शेर्पाहरु ‘क्याम्प फोर’मा ओर्लिए।

‘आफूसँग लगेको अक्सिजन सकिएको हुनाले उनको उद्धार गर्न अक्सिजन सिलिन्डर लिएर फेरि चढ्ने आशामा उनीहरू क्याम्प फोरमा ओर्लने निर्णय गरेका थिए,’ एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पाले एएफपीलाई भनेका छन्।

तर कडा बतास र खराब मौसमका कारण शेर्पाहरु तत्काल उनको उद्धारमा फर्किन पाएनन्। शुक्रवार विश्वलाई नै साहसको पाठ सिकाउँदै जेसन सगरमाथाको काखमा अस्ताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell