काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली हेडमास्टरमात्र नभएर प्रोफेसर डाक्टरसमेत भएको बताएका छन्। मंगलबारको संसदमा माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ फर्काउँदै बाँस्कोटाले उक्त भनाई राखेका हुन्।
'हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो हेडमास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ। नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनताको सामाजिक न्यायसहितको परिवर्तनको पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो। तपाईँहरूले दिएको उपाधिले हामीलाई पुग्दैन,' बाँस्कोटाले भने, 'केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर डाक्टर हो। इन्जिनियर हो। आर्किटेक हो। सबै हो। तपाईँहरूले कम्तीमा सिक्न पाउनुभयो। म बधाई भन्न चाहन्छु।' सोमवार सांसद सापकोटाले ओली हेडमास्टरको शैलीमा प्रस्तुत भएको आरोप लगाएका थिए।