PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

शिव शिखर सहकारी ठगीमा थपिँदै उजुरी, ६१ करोड दावी सहित ९ सय जना प्रहरीकहाँ



पहिलोपोस्ट

शिव शिखर सहकारी ठगीमा थपिँदै उजुरी, ६१ करोड दावी सहित ९ सय जना प्रहरीकहाँ

काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा माथि अनुसन्धान थालेको थियो।

सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ल रहेका छन्। गीता शिखर अर्गनाइजेसनको निर्देशक हुन्। सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन् गीता। केदार भने फरार छन्। त्यस्तै सहकारीका सीईओ लीलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा छन्।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। कुनै जिल्लामा एउटा त कुनै जिल्लामा तीन वटा समेत शाखा छन्।

सीआईबीको प्रारम्भीक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुल्छ। त्यसमा ५/६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। जसमा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

अहिले प्रहरीमा उजुरी आउनेक्रम पनि बढ्दो छ। अहिलेसम्म ९ सय ३७ जनाले सीआईबीमा उजुरी दिइसकेका छन्। उनीहरुको ६१ करोड रुपैयाँ हिनामिना भएको भन्दै माग दाबी गरेका छन्। अझै पीडित प्रहरीको सम्पर्कमा आउने क्रम रोकिएको छैन।

'दैनिक उजुरी दिनेहरुको सङ्ख्या बढ्दै गएको छ,' व्यूरोका एसपी सञ्जयसिंह थापाले भने।

प्रहरीले सुरुमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गर्दा ३ करोड १० रुपैयाँ भन्दा बढी ठगिएको भन्दै उजुरी परेको थियो। अहिले पनि उजुरी पर्नेको सङ्ख्या बढ्दै गएको हो।

सीआईबीले काठमाडौं उपत्यकाभित्रमात्र उजुरी लिएको छ। जिल्लाहरूमा उजुरी आएको प्रहरीले जानकारी दिएको छ। ३५ वटा जिल्लाहरूमा यसको शाखामार्फत रकम सङ्कलन हुन्थ्यो। तर रकमको लगानी र डिपोजिट भएको रकम केन्द्रीय कार्यालयमा नै जम्मा हुने गरेको देखिन्छ।

जिल्लामा शाखा रहेको कार्यालयका कर्मचारी पनि यस प्रकरणमा तानिने भएका छन्। उनीहरू पनि अनुसन्धानको घेरामा रहेको एक प्रहरी अधिकृतले जानकारी दिए। चितवन, हेटौँडा, पोखरा, कञ्चनपुर, कैलालीलगायतका शाखाहरूबाट बदमासी भएको देखिएको छ।

'अरु जिल्लामा पनि उजुरी आएको भन्ने जानकारी आएको छ,' एसपी थापाले भने।

शर्मा दम्पतीले कुनै प्रक्रिया पूरा नगरी अचल सम्पत्तिमा लगानी गरेको खुलेको छ। सहकारीले कुनै पनि अचल सम्पत्ति (घर जग्गामा) लगानी गर्न पाउँदैन। सहकारीले भने घर-जग्गादेखि विभिन्न मार्ट, खाद्यन्न स्टोरलगायतमा लगानी गरेको खुलेको छ।

सहकारीबाट ३५ वटा कम्पनीमार्फत् विभिन्न ठाउँमा लगानी गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell