PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकामा टिकटकको भविष्य के होला? मोन्टाना राज्यले लगाएको प्रतिबन्ध खारेजी माग्दै दर्ता रिटले देखाउनेछ बाटो



पहिलोपोस्ट

अमेरिकामा टिकटकको भविष्य के होला? मोन्टाना राज्यले लगाएको प्रतिबन्ध खारेजी माग्दै दर्ता रिटले देखाउनेछ बाटो
Photo : Reuters

अमेरिकाको मोन्टाना राज्यले हालै टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे पारित गरेको विधेयकविरुद्ध टिकटकले रिट दायर गरेको छ। पारित उक्त विधेयकमा सन् २०२४ को जनवरीदेखि मोन्टानामा व्यक्तिगत उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो।

टिकटकले मोन्टाना जिल्ला अदालतमा उक्त विधेयकलाई खारेज गर्न माग गर्दै रिट दायर गरेको हो। उक्त प्रतिबन्धले अमेरिकी संविधानका साथै विभिन्न संघीय कानुनहरुको उल्लंघन गरेको उसले दाबी गरेको छ। कम्पनीले चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताहरुसम्मको पहुँच पाउन सक्ने भन्दै लगाएको प्रतिबन्ध हालसम्म पुष्टि नभएको भन्दै आशंकाकै भरमा यसरी प्रतिबन्ध लगाउनु न्यायोचित नभएको पनि बताएको छ। कम्पनीले मोन्टाना राज्यले जुन कारण देखाउँदै प्रतिबन्ध लगाउन चाहेको हो त्यसको प्रमुख उद्देश्य नै प्रमाणित नभएको दाबी गर्दै उक्त विधेयक खारेज हुनुपर्ने दलिल पेश गरेको छ।

गत सातामात्रै मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले उक्त विधेयकमा हस्ताक्षर गरेका थिए। यस अनुसार आगामी जनवरी १ तारिखदेखि कुनै पनि व्यक्तिगत उपकरणमा टिकटक चलाउन पाइने छैन। व्यक्तिगत उपकरणका साथै एपस्टोरमा टिकटक उपलब्ध भएमा दैनिक १० हजार डलर जरीवाना गर्ने कानुन मोन्टाना सरकारले बनाएको छ।

‘हाम्रो व्यापारमाथिको प्रतिबन्धलाई फुकुवा गर्न तथा हजारौं प्रयोगकर्ताहरुको अधिकारको रक्षाका लागि  मोन्टानाको असंवैधानिक प्रतिबन्धको विरुद्ध हामीले रिट दायर गरेका हौं,’ टिकटकका प्रवक्ता ब्रुक ओबेरविट्टरले विज्ञप्तिमार्फत भनेका छन्,'यो चुनौतीले तथ्य तथा प्रक्रियागत रुपमा बलियो रुपमा हामीले तर्क प्रस्तुत गर्ने र सत्यको पक्षमा कानुनी फैसला आउनेछ भन्नेमा हामी विश्वस्त छौं।’

मोन्टानाका महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता इमली फ्लावरले भने कानुनी चुनौती आउनेबारे पहिला नै अपेक्षा रहेको बताउँदै भने, 'हामी प्रतिरक्षाका लागि पूर्ण रुपमा तयार पनि छौं। मोन्टाना राज्यको सुरक्षाका लागि हामी प्रतिरक्षा गर्नेछौं।’

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रयोगकर्ताहरुबारे सूचना संकलन गरी चीनलाई उपलब्ध गराउने गरेको भन्दै अमेरिकामा यसको आलोचना बढिरहेको छ। अधिकांश अमेरिकी अधिकारीहरुले चिनियाँ सरकारले टिकटकलाई जासुसी प्रयोजनका लागि प्रयोग गरेको हुनसक्ने आरोप लगाउँदै आएका छन्। तर यस आरोपलाई हालसम्म प्रमाणित गर्ने कुनै तथ्य प्रमाण भने भेटिएको छैन।

अमेरिकामा मोन्टाना मात्र नभई अन्य केही राज्यले पनि टिकटकमा प्रतिबन्ध लगाउनेबारे कुरा उठाएका छन्। मोन्टाना भने प्रतिबन्ध लगाउने विषयमा अन्य राज्यभन्दा अगाडि देखिँदै यसअघि नै सरकारी उपकरणहरुमा यसमाथि प्रतिबन्ध लगाइसकेको छ।

तर कानुनी तथा प्राविधिक विज्ञहरु भने यसरी कुनै पनि राज्यले यस्ता किसिमका प्रतिबन्ध लगाउन नमिल्ने बताउँछन्। कानुनले प्रतिबन्ध लगाउन भने पनि इन्टरनेटको व्यवहारिक पक्ष हेर्दा टिकटकलाई प्रयोगकर्ताहरुबाट बञ्चित गर्न असम्भवप्राय रहेको उनीहरुको तर्क छ।

टिकटकले भने मोन्टानाका हजारौं नागरिकले टिकटकलाई  विश्वभर एक अर्कासँग व्यापार, राजनीतिदेखि अन्य विविध शिर्षकका संचार गर्ने माध्यम बनाएको भन्दै यसमाथिको प्रतिबन्धले व्यक्तिको वाक स्वतन्त्रतामाथिकै हनन भएको तर्क गरेको छ। मोन्टाना सरकारले प्रमाणित नभएको आशंकाकै भरमा यस्तो आरोप लगाउँदा नागरिकको आधारभूत तथा मौलिक हकको हनन भएको उसको तर्क छ। टिकटकले अदालत समक्ष यस प्रतिबन्धलाई सँधैका लागि खारेज गर्न समेत माग गरेको छ।

टिकटकले हालेको यो रिटले अमेरिकामा टिकटकको भविष्य निर्क्यौल गर्नेछ। टिकटकमाथि प्रतिबन्ध लगाउने अन्य राज्यले प्रयास गरिरहँदा आफ्नो पक्षमा फैसला आए टिकटकलाई राहत मिल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell