काठमाडौं : आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल र जिम्बावेबिच प्रतिस्पर्धा हुने भएको छ। असार ३ गते (जुन १८)मा हरारे स्पोर्ट्स क्लबमा नेपाल र आयोजक राष्ट्र जिम्बावे भिड्नेछन्।
त्यसपछि असार ५ गते (जुन २०) मा नेपाल र अमेरिका भिड्नेछन्। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज जारी गरेको तालिका अनुसार नेपाल समूह 'ए' मा परेको छ। समूह 'ए' मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह 'बी'मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।
क्वालिफायर्समा दुबै समूहबाट तीन/तीन टोली सुपर सिक्समा पुग्नेछ्न्। त्यहाँबाट शीर्ष दुईमा रहने दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछ।
क्रिकेट विश्वकप लिग २ मा सानदार फिनिसिङ गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो समय प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा समेत स्थान बनाएको थियो।
प्रतियोगिताका लागि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले २२ सदस्यीय प्रारम्भिक टोली सोमवार घोषणा गरेका थिए। प्रिमियर कपमा च्याम्पियन बनेको टोलीका खेलाडीलाई नै देशाइले निरन्तरता दिएका छन्। प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, कुशल मल्ल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देवा खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अविनास बोहोरा रहेका छन्।