काठमाडौं : नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो जित निकालेको छ। एनएसी काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत मंगलवार सम्पन्न खेलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
मंगलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा बंगलादेशलाई दबावमा राख्दै सहज जित निकाल्यो। पहिलो सेटमा २५-१० ले नेपाल विजय भए पनि दोस्रो सेटको सुरुमा भने बंगलादेशले कडा टक्कर दिएको थियो। तर, ७-७ अंकको अवस्थाबाट नेपालले दुरी बढाउँदै २५-८ को अन्तरले जित निकाल्न सफल भयो। तेस्रो सेटमा भने नेपालले सुरुबाटै प्रभावशाली प्रदर्शन गर्दै लिड गर्यो। र, २५-९ को सेटमा जित निकाल्न सफल भयो।
जितपछि नेपाली टोलीका प्रशिक्षक जान डी ब्रान्टले आफ्नो करियरकै सजिलो खेल भएको भन्दै टोलीमा सुधार्नु पर्ने पक्षहरु अझै रहेको बताए। त्यस्तै कप्तान अरुणा शाहीले सेमिफाइनल पुगेकोमा खुशी लागेको बताइन्।
'सेमिफाइनलमा पुगेकोमा खुशी लागेको छ,' शाहीले भनिन्, 'अर्को खेलमा भारतलाई हराउँदै इतिहास बनाउन चाहन्छौँ। टिमको अर्गनाइजेसन र फङ्सन अझै राम्रो भएको छैन। सुधारेर लैजानेछौँ।'
नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै सुखद सुरुवात गरेको थियो। सोमवार नेपालले २५-११, २५-१९ र तेस्रो सेट २५-११ ले हराएको थियो। बंगलादेश भने आफ्नो पहिलो खेलमा भारतसँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो।
यसअघि मंगलवार सम्पन्न पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सेटमा हरायो। भारतले २५-१७, २५-८ र २५-८ को सेटमा जित निकाल्दै सेमिफाइनलको नजिक पुगेको थियो।
काजकिस्तानले श्रीलंकामाथि ३-१ को सेटमा जित निकाल्यो। २५-१६, २८-२६, १८-२५ र २७-२९ को अन्तरले जित निकालेको थियो।
नेपालले आफ्नो तेस्रो खेलमा बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारतले पनि लगातार दुई जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।