काठमाडौं : मकवानपुरको हेटौंडामा अहिले दोस्रो वाग्मती प्रदेश खेलकुद - २०८० प्रतियोगिता भइरहेको छ। यसपटक यो प्रतियोगिताको ‘मस्कट’को रुपमा सालकको आकृति प्रयोग गरिएको छ।
अति संकटापन्न सालकको आकृतिलाई मस्कटको रुपमा प्रयोग गरिएपछि संरक्षणकर्मीहरु उत्साहित भएका हुन्। प्रदेशस्तरीय खेलकुदमा सालकलाई मस्कटको रुपमा प्रयोग गर्दा निकै उत्साहित भएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए।
‘सालकलाई मकवानपुर जिल्लाले लामो समयदेखि संरक्षण गर्दैँ आएको छ। र, अहिले मकवानपुरका सामुदायिक वनहरुमा सालकको बासस्थान छ। हामी सालकलाई मकवानपुरको गौरवको प्राणीको रुपमा घोषणा गर्ने अभियानमा छौं। यसै अभियानमा साथ दिएर खेलकुदमा मस्कट राख्दा हामी निकै उत्साहित छौं,’ उनले भने।
मस्कटमा सालकको प्रयोगले जनस्तरमा सालकको संरक्षणको महत्व बुझाउन सकिने सरंक्षणकर्मीको विश्वास छ।
जेठ ७ गतेबाट सुरु भएको यस प्रतियोगिताको दोस्रो संस्करण जेठ १३ गतेसम्म चल्नेछ।