PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शरणार्थी प्रकरणमा थप हाइप्रोफाइल तानिँदैः बयानमा ओलीका स्वकीय सचिव बज्राचार्य, अख्तियार प्रमुख राई र बादल पनि जोडिए



पहिलोपोस्ट

शरणार्थी प्रकरणमा थप हाइप्रोफाइल तानिँदैः बयानमा ओलीका स्वकीय सचिव बज्राचार्य, अख्तियार प्रमुख राई र बादल पनि जोडिए

काठमाडौंः नक्कली भुटानी प्रकरण प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा अध्ययन भइरहेको छ। हाइप्रोफाइल व्यक्ति समातिएको घटनामा पक्राउ परेका व्यक्तिको बयानले थप हाइप्रोफाइल व्यक्ति जोडिने देखिएको छ।

घटनाका मुख्य अभियुक्त केशव दुलाल, सचिव टेकनारायण पाण्डे र सानु भण्डारीको बयानले थप व्यक्ति तानिने देखिएको छ। जसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा, उनकी श्रीमती नैतकला र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेत जोडिएका छन्।

प्रहरी हिरासतमा रहेका रहेका केशव दुलालले सचिव राजेश बज्राचार्यलाई रकम दिएको बयान दिएका छन्। प्रधानमन्त्री ओली भएको समयमा २०७६ असोजमा एक करोड रुपैयाँ दिएको बताएका हुन्। उनले बालुवाटारमा नै पैसा दिएको खुलाएका छन्।

'तत्कालीन प्रधानमन्त्री केपी ओलीकाका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिलामणि जिसीमार्फत् मलाई बोलाई २०७६ असोजमा एक करोड नगदै बुझी लिएको, तत्कालीन ऊर्जामन्त्री र उनका प्रमुख स्वकीय सचिव लीलामणि जिसीले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो' बयानमा दुलालले भनेका छन्।

यस घटनामा ओलीका पूर्वसल्लाहकार अजयक्रान्ति शाक्य, काठमाडौं महानगपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका पिए राजेश्वर स्थापितले पनि काम भएको भन्दै १ करोड रुपैयाँ लिएको बयानमा खुलेको छ। तर प्रहरीले भने प्रमाण नपुगेको भन्दै उनीहरूमाथि कारबाही गरेको छैन।

प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनमा पनि उनीहरूको नाम छैन। प्रहरीले पक्राउ परेका १६ जना र अन्य १७ जनालाई प्रतिवादी बनाएको छ।

अर्का अभियुक्त सानु भण्डारीले यस घटनामा रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई पनि एक करोड रुपैयाँ दिएको बयान दिएका छन्। सानुले रकम दिएको कुरा बालदका छोरा प्रतीक थापाको कुराबाट पुष्टि हुने आधार समेत उनले बयानमा दिएका छन्। मन्त्री क्वाटरमा नै पुगेर पैसा दिएपछि आमा र छोराको कुराकानीबाट नक्सालको एक होटेलमा भएको भेटमा खुलेको केशव दुलालले बयान दिएका छन्।

प्रहरीले बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनको खोजी भइरहेको छ। तर नैनकला र बादलमाथि भने प्रमाण नपुगेको भन्दै अनुसन्धान अगाडि बढाउन सकेको छैन।

उता ओलीको कार्यकालमा नै अर्थात् रामबहादुर थापा गृहमन्त्री हुँदा गृहसचिव बनेका प्रेमकुमार राईको पनि नाम लिएको बयानमा खुलेको छ। उनले मन्त्रालयमा पुगेर रकम दिएको बताएका छन्। सानु भण्डारीले एक करोड रुपैयाँ दिएको बताएका छन्।

सानु भण्डारीले भने आफूलाई इन्द्रजीत राईले अमेरिका पठाउने भन्दै ठगी गरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell