PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तिब्बतको विकास र मानव अधिकार संरक्षणका लागि बेइजिङमा छलफल



विधुर ढकाल

तिब्बतको विकास र मानव अधिकार संरक्षणका लागि बेइजिङमा छलफल
बेइजिङमा आयोजित फोरममा सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ।

सांघाईं: चिनियाँ राष्ट्रपति सि चिनफिङले चिनियाँ शैलीको आधुनिकीरणले तिब्बतको आर्थिक र सामाजिक विकासको ऐतिहासिक उपलब्धिलाई पूर्णता दिएको बताएका छन्। बेइजिङमा चीनको राज्य परिषदको सूचना कार्यालय र तिब्बत स्वशासित क्षेत्र जनसरकारले संयुक्त रुपमा आयोजना गरेको '२०२३ तिब्बत चाइना फोरम'को सफलताको शुभकामना पत्र लेख्दै उनलेे यस्तो बताएका हुन्। 

चीनले चिनियाँ शैलीको आधुनिकीकरणका साथ सबै जातीय समूहका जनताका लागि सुखी र राम्रो जीवनयापन गर्न नयाँ आशा र नयाँ आवश्यकता अगाडि सारेको र तिब्बतको दीर्घकालीन शान्ति र स्थिरता र उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्ने दिशातर्फ संकेत गरेको राष्ट्रपति सिको शुभकामना पत्रमा उल्लेख छ। 

उनले तिब्बतले चिनियाँ राष्ट्रिय समुदायको निर्माणलाई बढवा दिन ठूलो योगदान गर्नेसमेत बताएका छन्। साथै उनले तिब्बतको वास्तविकता अनुरूप उच्च गुणस्तरको विकासको बाटो फराकिलो हुने नयाँ युग र नयाँ यात्रामा तिब्बती जनताको आध्यात्मिक दृष्टिकोण अझ सशक्त हुनेछ बताएका छन्। 

"नयाँ युग, नयाँ तिब्बत, नयाँ यात्रा: तिब्बतमा उच्च गुणस्तरको विकास र मानव अधिकार संरक्षणको नयाँ अध्याय" भन्ने विषयमा ३६ देश र क्षेत्रका १५० भन्दा बढी चिनियाँ र विदेशी पाहुनाहरुले फोरममा छलफल गर्दै छन्। सिले व्यक्त गरेको शुभकामना शन्देशमा भनेका छन- 'जनताको खुसी अन्तिम मानव अधिकार हो, जबकि जनतालाई राम्रो जीवन प्रदान गर्न विकासले महत्वपूर्ण भूमिका खेल्छ।'

सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि तिब्बतका जनताले केन्द्रीय सरकार र देशभरका जनताको बलियो समर्थन प्राप्त गर्दै विकासको नयाँ मार्ग खोलेको थियो। 

यता फोरम अगाडि विभिन्न देशका कूटनीतिज्ञहरुले तिब्बतको भ्रमण गरेका छन्। मे १६ देखि २२ सम्म ८० भन्दा बढी कूटनीतिक दूत, विभिन्न क्षेत्रका विज्ञ, मिडिया र व्यापारिक प्रतिनिधि र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तिब्बतको भ्रमण गरेका थिए। प्रतिनिधिमण्डलले निङ्ची र क्षेत्रीय राजधानी ल्हासाका विद्यालय र समुदायको भ्रमण गर्नुका साथै विभिन्न क्षेत्रका स्थानीयसँग कुराकानी गरेको थियो। उनीहरूले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पोताला दरबारलगायत प्रमुख आकर्षणको पनि भ्रमण गरेका थिए।

तिब्बतले पछिल्लो समय पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ। २०२२ को तथ्यांक अनुसार तिब्बतमा १ लाख २१ हजार ४०० किलोमिटर सडक सञ्जाल विस्तार भएको छ। गत वर्ष मात्र तिब्बतको पठार क्षेत्रमा सडक सञ्जाल विकासका लागि २.३३ बिलियन अमेरिकी डलर बराबरको रकम खर्चिएको छ। 

त्यस्तै सञ्चार क्षेत्रको विकासका लागि तिब्बत क्षेत्रमा ९ हजार ५०० बढी फाइभ जी बेस स्टसन निर्माण भएका छन्। सन् २०१९ को अन्त्यमा तिब्बत स्वशासित क्षेत्रले पूर्ण गरिबी निवारण गरेको थियो। सन् २०१२ मा ७१ बिलियन रहेको त्यहाँको जीडीपी २०२१ सम्म पुग्दा २०८ बिलियन पुगेको छ। सन् १९५१ मा ३५.५ वर्ष औषत आयु रहेको तिब्बतमा सन् २०२१ मा पुग्दा औसत आयु ७२.१९ पुगेको छ। 

सन् १९५१ मे २३ का दिन तिब्बतको शान्तपूर्ण मुक्तिका लागि तिब्बतको स्थानीय सरकार र केन्द्रीय सरकारबीच १७ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो। 

सन् १९५९ मार्चमा तिब्बतमा प्रजातान्त्रिक सुधारको सुरुवात भएको थियो। त्यस्तै सन् १९६५ को सेप्टेम्वरमा तिब्बतको प्रथम जनकंग्रेसको पहिलो बैठकमार्फत तिब्बत स्वायत्त क्षेत्रको घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell