PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

बालकृष्णबारे कांग्रेस नेतालाई देउवाको ब्रिफिङ: खाण पैसामा बिक्ने मान्छे हैन, प्रमाण पनि भेटेको छैन



पहिलोपोस्ट

बालकृष्णबारे कांग्रेस नेतालाई देउवाको ब्रिफिङ: खाण पैसामा बिक्ने मान्छे हैन, प्रमाण पनि भेटेको छैन

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाण शरणार्थी प्रकरणमा निर्दोष निस्कने विश्वास व्यक्त गरेका छन्। मंगलबार खाण निकट नेताहरुसँग छलफलको क्रममा सभापति देउवाले उक्त भनाई राखेका हुन्।

'बालकृष्ण पैसामा बिक्ने मान्छे हैन। मैले चिनेको मान्छे हो। उहाँको प्रमाण फेला पारेको छैन। कतै चुक्या हो कि भन्ने थियो। तर अहिलेसम्म प्रमाण भेटिएको छैन,' देउवाले खाण निकट नेताहरुसँग भने।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गरेको प्रकरणमा वैशाख २७ गते खाण मैजुबहालबाट पक्राउ परेका हुन्।

खाण पक्राउबारे पार्टीले के कसरी हेर्दैछ भन्ने विषयमा बुझ्न कांग्रेस केन्द्रीय सदस्य राधा घले, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, तरुण दलका सोलुखुम्बु अध्यक्ष अशोक झालगायत नेताहरु मंगलबार दिउँसो देउवा निवास धुम्बाराही पुगेका थिए।

देउवासँगको छोटो भेटमा आफूहरुले प्रमाणविनै प्रहरीले खाणलाई फसाउन खोजेको विषयमा जिज्ञासा राखेको घलेले बताइन्।

'किसुनजीको फोटो राखेर पूजा गर्न लगाउने मान्छे। हामीलाई पनि किसुनजीको फोटो दिने मान्छे हो बालकृष्ण खाण,' केन्द्रीय सदस्य घलेले भनिन्, 'उहाँ राष्ट्रवादी मान्छे हो। देश र जनताको लागि अहित सोच्नु हुन्न।'

पक्राउ पर्नुअघि पनि खाणले कांग्रेस नेतृत्वसँग आफूले गल्ती नगरेकोले नडराउने बताउँदै आएका थिए।

आफू निर्दोष साबित गराउँछु भनिसकेकोले कांग्रेसले उनलाई कारबाही नगरेको पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका थिए।  जेठ २ गते पत्रकार सम्मेलनमा महतले भनेका थिए 'बालकृष्णजी पर्नुभएको छ। यसको निष्कर्ष आओस् न। उहाँले निर्दोष छु भन्नुभएको छ। निष्पक्ष अनुसन्धान होस् भन्ने कांग्रेसको धारणा हो।'

आजै देउवालाई खाण पत्नी मञ्जुले पनि भेटेकी थिइन्। मञ्जुले देउवासँग खाण निर्दोष रहेको उल्लेख गर्दै जोगाइदिन आग्रह गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell