सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ। पहिलो अधिवेशन गत बैशाख १७ गते अन्त्य भएको थियो।
कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बुधवार दिउँसो ३ बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन्।
उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर छलफल हुने जनाइएको छ। प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई बुधवारको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।