PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पर्याप्त छैनन् मनोपरामर्शकर्ता : मनमा नकारात्मक सोच आउन थाले के गर्ने?



रिना थापा

पर्याप्त छैनन् मनोपरामर्शकर्ता : मनमा नकारात्मक सोच आउन थाले के गर्ने?
DALL·E 2 एआईबाट जेनेरेट गरिएको मनोपरामर्शसँग सम्बन्धित प्रतीकात्मक स्केच।

पोखरा : चिन्ता लाग्ने, मन आत्तिने अनि नकारात्मक सोच आउने समस्यबाट पोखराकी एक युवती एक वर्षदेखि पीडित थिइन्। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनमा यो समस्या देखिन थालेको हो।

छोराहरु विदेशमा भएका कारण पनि मनका भावनाहरु पोख्नको लागि उनको साथमा कोही भएनन्। जसले उनमा चिन्ता र तनाब बढेको थियो।

आफ्नो समस्या पोख्ने ठाउँ नभएपछि उनी केही समयअगाडि ‘कोसिस नेपाल’को सम्पर्कमा आइन्। उनलाई कोसिसका मनोविमर्शकर्ता विजय राईले परामर्श दिए।

परामर्श लिँदै गर्दा उनलाई तनाव कम भएको महसुस हुँदै गयो। नकारात्मक सोच आइरहने उनले परामर्शपछि जीवन जीउने आधार मिलेको महसुस गरिन्। अहिले उनले सामान्य रुपमा जीवन बिताइरहेकी छिन्।

मानसिक समस्या संवेदनशील जनस्वास्थ्य समस्या हो। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्छन्। नेपालमा पनि यो संख्या वर्षेनी बढ्दो छ।

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर केही संस्थाले समाजमा काम गरिरहेका छन्। जसमध्येको एक हो कोसिस नेपाल।

मानसिक स्वास्थ्यका विषयमा समाजमा विभिन्न भ्रम छन्। जसमा आत्महत्याको बारेमा खुलेर कुरा गर्दा मर्ने प्ररेणा बढ्छ भन्ने पनि एक हो।

आत्महत्याको विषयमा व्यक्तिसँग कुरा गर्दा आफनो समस्या सुन्ने व्यक्ति रहेको भावना विकास हुने बताउँछन् मनोविमर्शकर्ता राई। एक कार्यक्रममा बोल्दै उनले समस्या भएको व्यक्तिको कुरा सुन्ने र बुझ्ने प्रयास महत्वपूर्ण रहेको बताए।

यस्तै, केही समयअगाडि मात्र एकजना व्यक्ति मानसिक समस्या लिएर कोसिस नेपाल पुगे। मनोपरामर्शपछि उनको दैनिकीमा सकरात्मक प्रभाव परेको छ।

‘एकजना बाइपोलारसँग सम्बन्धित लक्षण लिएर आउनुभएको थियो। हामीसँगको थुप्रै सेसनपछि राम्रो भएको छ। जीवन जीउने सिप सिकेर अहिले राम्रो हुनुहुन्छ। कहिलेकाहीँ समस्या भए कुरा गर्न आउनुहुन्छ,’ उनले भने।

यसले पनि देखाउँछ कि मानसिक समस्यामा मनोपरामर्शकर्ताको महत्वपूर्ण भूमिका हुन्छ भनेर। गण्डकीको आत्महत्या तथ्यांक हेर्दा कास्कीमा बढी छ। कास्कीमा मानसिक स्वास्थ्य समस्याको अवस्था तथ्यांकले देखाउँछ। तरपनि कास्कीमा मनोपरामर्शकर्ताको संख्या न्यून छ। आवश्यकता अनुसारको स्वास्थ्य जनशक्ति छैन।

सरकारी अस्पतालमा मनोचिकित्सक भएपनि मनोपरामर्शकर्ता छैनन्। पोखरामा बिजी अस्पतालले मानसिक स्वास्थ्यको समस्यालाई मध्यनजर गरेर सेवा दिँदै आएको छ। तर निजी अस्पतालमा सबै व्यक्तिको पहुँच र उपचार गर्ने क्षमता नहुने बताउँछिन् कोपिला नेपालकी अध्यक्ष बिना सिलवाल।

‘समाजमा मानसिक स्वास्थ्य समस्या छ। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने पोखरामा राम्रो अस्पताल बिजी हो। निजी अस्पतालमा सबै बिरामीले खर्च व्यहोर्न सक्दैनन्। अस्ति मात्र एकजना व्यक्तिले बिजीमा उपचार खर्च व्यहोर्न नसकेर अन्य संस्थाको सहयोग खोज्न आग्रह गर्दै फोन गर्नुभएको थियो,’ उनले भनिन्।

पोखरामा तीन संस्थाले मनोपरामर्शको सुविधा दिइरहेका छन्। कोपिला नेपाल, टीपीओ र कोसिसले पोखरामा परामर्श दिँदै आएका छन्। मानसिक स्वास्थ्य समस्यालाई निर्मुल पार्नको लागि सरकारी रणनीति बलियो हुनुपर्ने विचार राख्छन् राई।

‘पोखरामा आधिकारिक रुपमा सरकारी तवरबाट मनोविद् राखेको थाहा छैन। तथापि, संघसंस्था तीन जनामा मात्र मनोविद् हुनुहुन्छ। संघसंस्था सधैँ हुन्छ भन्न्ने हुँदैन। त्यसकारण सबैभन्दा दरो सरकारको भूमिका आवश्यक छ। पोखरा महानगरकै हुन्छ। सरकारी तवरबाट स्वास्थ्यलाई कसरी माथि उकाल्न सकिन्छ भन्ने योजना र रणनीति बनाउन जरुरी छ,’ उनले भने।

उनले थपे, ‘उहाँहरु निर्धक्क ढंगले आउनसक्नुहुन्छ। आइपनि राख्नुभएको छ। आउनभन्दा अगाडि फोन गरेर आउन सक्नुहुन्छ।’

मानसिक समस्या मन र सोँचाइसँग सम्बिन्धत समस्या भएकाले यसमा मनोविमर्शकर्ताले उचित ढंगले सहयोग गर्न सक्ने बताउँछन् राई। सरकारले मानसिक स्वास्थ्य समस्यालाई ख्याल गरेर हेल्पलाइन नम्बर राखेको छ।

११६६ मा निःशुल्क राष्ट्रिय हेल्पलाइनमा फोन गरेर मनोपरामर्शको सेवा लिन सकिन्छ। यसबाहेक पोखरामा कोसिश गण्डकीको १६६०६१५२००७, कोपिला नेपालको १६६०६१५२००५, टीपीओ नेपालको १६६००१०२००५ मा फोन गरेर पनि मनोपरामर्श लिन सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell