.jpg)
काठमाडौं : एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा बुधवार नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दिउँसो ३ बजे सेमिफाइनलमा पुगिसकेका यी दुई टोली प्रतिस्पर्धामा उत्रँदैछन।
दुबै टोलीले यसअघिका आफ्ना दुई खेलमा जित निकालिसकेका छन्। नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो भने भारतले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा किर्गिस्तानलाई हराएको थियो। दुबै टोलीले आफ्ना दुबै खेलमा सोझो सेटमा सहज जित निकालेका थिए।
नेपाली टोलीकी कप्तान अरुणा शाहीले मंगलवार बंगलादेशलाई हराएपछि भारतसँगको खेलमा सुधार्नुपर्ने पक्ष धेरै भएको बताइन्।
'हाम्रो टिमको अर्गनाइजेनस र फङ्सन राम्रो भएन। यसलाई सुधार्नेमा हाम्रो ध्यान केन्द्रीत हुनेछ। सेमिफाइनल नजिक पुग्दा खुशी छौं,' कप्तान शाहीले भनिन्।
नेपालले पछिल्लो पटक १३ औं दक्षिण एसियाली खेलकुदमा भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यसबेला प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा 'बेस्ट अफ फाइब'मा भारतले नेपालमाथि कठिन जित निकालेको थियो। हाल महिला च्यालेन्ज कप सुरु हुनुभन्दा अघि नै शाहीले भारतलाई कडा चुनौती दिने बताएकी थिइन्। त्यसअघिका खेलमा १५ अंकभन्दा कममा भारतसँग पराजय ब्यहोरेको स्मरण गर्दै यसपटक इतिहास बनाउन चाहेको बताएकी थिइन्।
'पछिल्लो पटकको खेलमा हामी बेस्ट अफ फाइबमा हार्यौं। अहिले मौका छ जस्तो लाग्छ। इतिहासमा बनाउने प्रयास गर्नेछौं,' उनले भनिन्।
नेपाली टोलीका प्रशिक्षक जान डी ब्रान्टले सेमिफाइनल पुगिसकेकाले आजको नतिजा धेरै महत्वपूर्ण नहुने बताए।
'अहिलेको भारतसँगको नतिजा त्यस्तै महत्वपूर्ण हुनेछैन। अढाइ महिनादेखिको तयारीमा भारत जस्तो फिजिकल्ली बलियो टोलीसँग कसरी खेल्ने भनेर योजना बनाएका छौं,' उनले भने, 'भारतविरुद्ध राम्रो भलिबल खेल्ने छौं। हामीसँग मौका छ।'
उनले भारतसँगको खेलअघि सुधार्नुपर्ने पक्षहरुमा काम गर्ने बताएका छन्। उनले अंक जोड्नु मात्र महत्वपूर्ण नभएर राम्रो खेल खेल्नु पनि आवश्यक रहेको बताए। बंगलादेशसँगको खेलमा देखिएका जस्ता ससाना गल्तीहरु भारतसँग भए नजित खराब हुने उनले बताए।
'यो 'डू अर डाइ'को खेल होइन। हामी पक्कै पनि जितका लागि खेल्नेछौं। यसमा हामीलाई दबाब लिन आवश्यक छैन। सेमिफाइनलमा भने दबाब हुनेछ,' उनले भने।
प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्बेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ।
नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई २५-११, २५-१९ र तेस्रो सेट २५-११ ले हराएको थियो। त्यस्तै मंगलवार बंगलादेशलाई २५-१०, २५-८ र २५-९ को सेटमा हराएको थियो।