बुटवल : दुई छुट्टाछुट्टै घटनामा पाल्पामा दुई जनाको मृत्यु भएको छ। घाँस काट्दा रुखबाट लडेर घाइते भएका पूर्वखोला गाउँपालिका-५ वीरकोटका ७४ वर्षीय हरीराम पुनको उपचारका क्रममा मंगलवार राति मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार यही जेठ २ गते घर नजिकै घाँस झार्ने क्रममा लडेर घाइते भएका पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको थियो। घरनजिकैको बारीमा रहेको दबदबेको रुखमा चढेका पुन रुखबाट लडेर गम्भीर घाइते भएका थिए।
यस्तै, घरको दोस्रो तलाबाट खसेर घाइते भएका रामपुर नगरपालिका-५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेलको पनि उपचारका क्रममा मृत्यु भएको छ। मंगलवार बेलुका छिमेकीको घरमा गई मादक पदार्थ सेवन गरी घर फर्किएर ३ तले कच्ची घरको दोस्रो तलाबाट खसेर उनी घाइते भएका थिए।
डोटेलको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।