काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रम संसदमा पढ्ने कामको औचित्य नभएको बताएका छन्। छलफल गर्ने तर संशोधन पनि नगर्ने कर्मकाण्डी भएको बताए। बुधवारको प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा उनले नीति तथा कार्यक्रम सच्याउनुपर्ने बताए।
उनले पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधव नेपाललाई लक्षित गर्दै संसदमा आरोप प्रत्यारोप उत्रनुभन्दा कान्ति बाल अस्पताल गएर हेर्न सुझाव दिएका छन्। '३० वर्षको मुल्याङ्कन गर्न एक अर्काको घरमा गएर चिया खानुस् छलफल गर्नुस्,' उनले भने। नयाँ सांसदहरुको घरमा गएर पनि छलफल गर्न सकिने उनको भनाइ छ।
अर्थतन्त्र अन्यौलको स्थितिमा भए पनि राजनीतिक नेतृत्वले गम्भीरताका रुपमा नलिएको लामिछानेको भनाइ छ। राजनीतिक दल र नेतासँग सामीप्यता भएका व्यापारिक लागि नीति कार्यक्रम भएको लामिछानेको आरोप छ। उनले प्रदेशमा पनि केन्द्रकै नीति योजना उल्लेख हुने हुनाले प्रदेशको औचित्यबारे प्रश्न गरे। स्थानीय तहलाई जवाफदेही बनाउने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा नभएको उनले बताए।
लामिछानले निर्वाचन प्रणाली महंगो भएको भन्दै फेर्न सुझाव दिए। 'यो निर्वाचन प्रणालिबाट कयौं पार्टीमा टिकट पाउन कति पैसा बुझाउनु पर्यो छातिमा हात राखेर भन्नुस त?,' उनले भने।