PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इलिमिनेटरमा लखनउ र मुम्बई भिड्दै : एक टिम क्वालिफायर्समा, अर्को आउट



पहिलोपोस्ट

इलिमिनेटरमा लखनउ र मुम्बई भिड्दै : एक टिम क्वालिफायर्समा, अर्को आउट
Photo: ANI

इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स भिड्दैछन्। चेन्नइस्थित चिदम्बरम स्टेडियममा यी दुई टोली इलिमिनेटर चरणमा भिड्नेछन्।

लिग चरणबाट लखनउ १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो भने मुम्बईले १६ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो। यो खेलमा दुवै टोली 'डू अर डाई'को अवस्थामा हुनेछन्।

जित्ने टोलीले क्वालिफायर्समा स्थान बनाउने छ भने पराजित हुने टोली बाहिरिनेछ। जित निकाल्ने टोलीले क्वालिफायर्समा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

यसअघि मंगलवार पहिलो क्वालिफायर्समा चेन्नइ सुपरकिंग्सले गुजरात टाइटन्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनल पुग्न गुजरातले अब दोस्रो क्वालिफायर्सको अवसर प्राप्त गर्नेछ। गुजरात लिग चरणमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायर्समा पुगेको टोली हो।

पछिल्लो सिजन खराब प्रदर्शन गरेको मुम्बईले यो सिजन प्रदर्शन सुधार्दै प्लेअफमा स्थान बनाउन सफल भयो। मुम्बईलाई प्लेअफमै स्थान बनाउन कठिन भइरहेको अवस्थामा अन्तिम खेलमा गुजरातले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएपछि मुम्बईले प्लेअफमा स्थान बनाउने समीकरण बनेको थियो।

अर्कोतर्फ अघिल्लो सिजन एलिमिनेटरमा बेङ्ग्लोरसँग पराजय ब्यहोरेको लखनउले तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो। नियमित कप्तान केएल राहुलको अनुपस्थितिमा पनि क्रुणाल पाण्ड्याको कप्तानीमा लखनउले सन्तुलित प्रदर्शन गर्दै आएको छ।

मुम्बईको बलियो पक्ष ब्याटिङमा देखिएको छ। पछिल्लो खेलमा मुम्बईले क्यामरन ग्रीनको शतकमा सनराइजर्स हैदराबादविरुद्ध जित निकालेको थियो।

त्यस्तै, सूर्यकुमार यादव र इशान किसनको प्रदर्शन पनि सानदार छ। मुम्बईको ब्याटिङसँग ट्याकल गर्न लखनउसँग राम्रो स्पीन अट्याक छ।

खास गरी रवि विश्नोइ र नवीन उलहक, अमित मिश्रा तथा अवेश खानको उपस्थितिमा लखनउको बलिङ अट्याक राम्रो हुनेछ। मुम्बईका जसप्रीत बुमराह, जोफ्रा आर्चर जस्ता खेलाडीको अनुपस्थितिको लखनउले फाइदा उठाउन सक्छ।

खेल साँझ पौने ८ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell