PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

हिरण्य भोजपुरेको १०८ लघुकथाको 'मुसुक्क म' बजारमा



पहिलोपोस्ट

हिरण्य भोजपुरेको १०८ लघुकथाको 'मुसुक्क म' बजारमा

काठमाडौं : पुराना गायक हिरण्य ‘भोजपुरे’को ‘मुसुक्क म’ सार्वजनिक भएको छ। भोजपुरेको आख्यान पब्लिकेशन नेपालयबाट प्रकाशन गरेको हो।
एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका धेरै कथा एकै पानामा अटाएका छन्। कतिपय कथा एक दुइ अनुच्छेदमै समेटिएका छन्। सिंगो कथा संग्रह एकै बसाइँमा पढ्न सकिन्छ। डेढ सय पृष्ठको पुस्तकको मूल्य तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ।

नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’ नयाँ नाम होइन। संगीतमा उनलाई चिन्नेहरुका लागि सांगीतिक समूह ‘लेकाली’ पनि नयाँ नाम होइन। लेकालीमा भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिति थियो।

भोजपुरमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ। 

भोजपुरेको लेखन यात्रा भने उनका पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदादेखि नै सुरु भएको हो। उनले २०२२ सालमा ‘छहराको गीत’ लेखेका थिए। त्यस गीतमा उनी आफैले संगीत दिएका थिए। राष्ट्रिय भावनाका नेपाली गीतहरुमाझ अजम्बरी मानिन्छ उनको यो गीत।

भोजपुरेले कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन्। 

‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ का सर्जक आफु वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन्। साथीसंगत बिच रमाइलो गरिरहने स्वभावका भोजपुरेले त्यही गुण लघुकथाहरुमा अभिव्यक्त गरेका छन्। 

‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बनोट बन्छ,’ भोजपुरे लघुकथाबारे भनेका छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यही कुरा आफुलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयार भएको हो।’

भोजपुरे लामो समय सरकारी सेवामा संलग्न रहे पनि उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ। भोजपुरेले यी लघुकथा पछिल्लो छ वर्षयताको सिर्जना हो।

‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरेले भनेका छन्, ‘त्यही कालखण्डमा म छोरी ज्वाईं , छोरा बुहारी र नाती नातिना समिप अमेरिकातिर रहेकोले, प्रवासिँदाका नेपाली भोगाइहरु पनि यी कथाहरुमा समेटिन पुगेका छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell