काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज प्रतिनिधिसभामा उपस्थित भएका छन्।
गत फागुन ३ गते बुद्धनगरस्थित घरमा भएको आगलागीमा उनी घाइते भएका थिए। सो घटनामा उनकी आमा हरिकला भण्डारीको निधन भएको थियो। चन्द्र भण्डारी भारतमा उपचारपछि केही हप्ता अघिमात्रै काठमाडौं फर्किएका हुन्।
आज संसदमा पुगेका भण्डारीले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यसक्रममा भण्डारीले ग्यास र बिजुली प्रयोग सम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका थिए।
उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि यसबारेमा जानकारी गराएको बताए ।
उनले भने, 'गाउँगाउँमा ग्यास र बिजुली पुग्यो। के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ। ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ।'
जलमा परेर धेरै मानिसको मृत्यु हुनेको गरेको भन्दै उनले सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताएका थिए।